गैंडाको खाग तस्करी गरेको आरोपमा १५ जना पक्राउ, एउटा खाग बेच्न २० लाखको ‘डिल’


 


काठमाडौं, माघ २७
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गैँडाको चोरी शिकारमा संलग्न १५ जनाको समूहलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा शिकारमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

ब्युरोले अपरेसन ‘रुट टु रुट’ चलाएर प्रहरीले यी शिकारीलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । लामो समयदेखि काठमाडौँ र अन्य क्षेत्रमा रहेर गैँडाको खाग बिक्रीमा संलग्न रहँदै आएका १५ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । पक्राउ पर्नेमा झापाका इन्द्रमणि आचार्य, बाँकेकी जमुनाकुमारी शर्मा, पाल्पाका बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, प्रताप चौधरी, ललितपुरका डम्बरकुमार आले मगर, गोरखाका दानबहादुर राना, स्याङ्जाका निर्मल शाही, हरिमाया राना, भरतपुरकी सम्झना चेपाङ, चितवनका राजु भनिने सोमबहादुर चेपाङ, तुलसी चेपाङ र वीरमान बाइबा छन् ।

सीआईबीले चितवनबाट राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पनि पक्राउ गरेको छ । १९ पुसमा प्रहरीले काठमाडौं–७, सरस्वतीनगरमा गैँडाको खाग किनबेच हुन लागेको सूचना पाएको थियो । त्यही सूचनाको आधारमा पुगेको टोलीले इन्द्रमणि र जमुनाकुमारीलाई ५२२ ग्राम तौलको खागसहित समातेको थियो ।

चितवनको खगेडी खोलाबाट तस्करी गरेको गैंडाको खाग बेच्न दुईजनाले काठमाडौंमा ‘डिल’ गरिरहेका थिए । काठमाडौं महानगरपालिका–७ स्थित सरस्वती नगरमा खाग बेच्न खोज्दा दुईजना पक्राउ परे ।

उनीहरु हुन्, झापाको भद्रपुर नगरपालिका–१० घर भएका ४५ वर्षीय ईन्द्रमणी आचार्य र बाँकेको कोहलपुर घर भएकी ४१ वर्षीया जमुना कुमारी शर्मा । जमुना र इन्द्रमणीलाई गैंडाको खाग सहित पुस १९ मा पक्राउ गरिएको ब्यूरोले जनाएको छ । उनीहरुले सो खाग २० लाखमा बेच्न ‘डिल’ गरेका थिए । उनीहरुको बयानको आधारमा शिकारी सहित थप १३ जना पक्राउ परेका हुन् ।

त्यस बेला उनीहरूलाई खागसहित डिभिजन वन कार्यालय, हात्तीसार बुझाएको थियो । त्यसमाथि विस्तृत अनुसन्धान गर्दै जाँदा गिरोह नै समातिएको व्युरोले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्