रामप्रसाद राईका बारेमा थप अध्ययन आवश्यक : सभामुख घिमिरे


 


काठमाडौं, फागुन १८
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईबारे थप खोजी, अध्ययन र अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

रामप्रसाद राईको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले तथ्यपरक र खोजमुलक अनुसन्धान गर्न आग्रह गरे ।


‘रामप्रसाद राईको योगदानका बारेमा इतिहास यथार्थपरक आउन सकेको छैन,’ उनले भने, ‘तथ्यपरक, खोजमुलक अनुसन्धानका लागि अध्येता लागिरहनुभएको छ, त्यस्ता लिखत, कृति प्रकाशन गर्न आवश्यक छ ।’

रामप्रसाद राई स्मृति प्रतिष्ठान लगायतका कतिपय संस्था र व्यक्तिहरुले राईलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान गरियोस् भन्ने मागमा आफ्नो सकारात्मक पहल रहने सभामुखको भनाइ छ । उनले रामप्रसाद राई लगायतका सहिदहरुको चाहना अनुसार व्यवस्थामा परिवर्तन भए पनि अझै अवस्थामा परिवर्तन हुन नसकेको उल्लेख गरे ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले जनस्तरबाट रामप्रसाद राईलाई सम्मान भए पनि राज्यस्तरबाट सम्मान हुन नसकेको बताए । रामप्रसाद राईलाई राज्यस्तरबाट उचित सम्मान गर्न सबै राजनीतिक दलले पहल गर्नुपर्ने राईको भनाई थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती भुपाल राई, प्रा.डा. गोविन्दमान सिंह कार्की, प्रकाश राई लगायतले रामप्रसाद राईको ऐतिहासिक योगदानबारे चर्चा गरेका थिए ।

रामप्रसाद राई स्मृति प्रतिष्ठानले फागुन १८ गते जन्मजयन्ती तथा मंसिर २४ गते मुक्ति दिवस विभिन्न रचनात्मक काम गरेर मनाउँदै आएको प्रतिष्ठानका सल्लाहकार पारुहाङ राईले बताए ।

कार्यक्रममा भुपाल राईको कविता रामप्रसाद राई २००८ मा आधारित नाटक समेत मञ्चन गरिएको थियो । उक्त नाटकको लेखन कवि राजन मुकारुङले गरेका हुन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दल, संघ संस्था, समाजसेवी, उच्च पदस्थ कर्मचारी लगायतको उपस्थिति थियो । कार्यक्रममा आजिवत सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्