नेपाल रेल्वेको जग्गा अलपत्र


 


काठमाडौं, फागुन २३
सम्बन्धित मन्त्रालय र निकायको पहल नहुँदा पर्सा जिल्लाको सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेल्वेको करिब २० बिघा जग्गा वर्षौंदेखि अलपत्र छ ।

ब्रिटिस भारतकै समयमा नेपालले खरिद गरेको सो जग्गा बर्सेनि अतिक्रमित हुँदै गए पनि संरक्षणका लागि तालुक मन्त्रालय र निकायले अहिलेसम्म कुनै ठोस पहल गरेको देखिँदैन । अहिले अर्बौं रुपियाँ पर्ने सो जग्गा नेपालले सन् १९२० मा खरिद गरेको थियो ।

रक्सौलस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको जग्गा संरक्षणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अनभिज्ञ देखिएको छ । सो जग्गा संरक्षणका लागि के–कस्तो प्रयास र पहल भइरहेको छ भन्ने जिज्ञासामा मन्त्रालयका सचिव केशवकुमार शर्माले अनभिज्ञता व्यक्त गरे । आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले सो जग्गाबारे तत्काल आफू ‘अपडेट’ नरहेको स्वीकारे ।

एक शताब्दीअघि खरिद गरिएको सो जग्गा वर्षौंदेखि अतिक्रमित हुँदै आए पनि नेपाल रेल्वे कम्पनी लिमिटेडले जग्गा संरक्षणका लागि बल्ल अघिल्लो वर्षदेखि जुर्मुराउन थालेको देखिन्छ ।

सो जग्गा संरक्षण तथा नेपालले प्रयोग गर्न पाउनेगरी फुकुवाका लागि आवश्यक पहल गरिदिन कम्पनीले एक वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको देखिन्छ । पहिलो पत्रको कुनै सुनुवाइ नभएको देखिएपछि कम्पनीले मन्त्रालयलाई दोस्रो पत्र पठाएको थियो । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्