आज ३० औं आईजीपी पाउँदै नेपाल प्रहरी


 


काठमाडौं, चैत्र १०
नेपाल प्रहरीले आज ३० औं महानिरीक्षक (आईजीपी) पाउँदैछ । हालका महानिरीक्षक धीरज प्रताप सिंह ३० वर्ष सेवा अवधि पूरा गरेर शुक्रबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेसँगै नेपाल प्रहरीले ३० औं आईजीपी पाउन लागेको हो ।

शुक्रबार अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद्‌को बैठकले प्रहरीको आईजी नियुक्त गर्नेछ । नेपाल सरकारको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार मात्रै दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एकजना प्रहरी महानिरीक्षक बन्दै छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका थिए । उनीहरु पाँचैजना महानिरीक्षक पदको दाबेदार हुन् । तर, उनीहरूमध्ये पछिल्लो समय दुई जनाको बीचमा तीव्र प्रतिस्पर्धा देखिएको छ । आईजीपी हुने प्रतिस्पर्धामा कुँवर र ज्ञवाली अगाडि छन् ।

त्यसमध्येमा पनि एआइजी ज्ञवालीको सम्भावना बलियो छ । बिहीबार साँझ मात्रै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच एआइजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने विषयमा छलफल भएको थियो ।

हालका आईजी धीरजप्रताप सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, दिवेश लोहनी, उत्तमराज सुवेदी ३० वर्षे सेवा अवधिका कारण चैत १० गतेदेखि अनिवार्य अवकाशमा जानेछन् ।

प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्