मन्त्रिपरिषद् विस्तारको तयारी : बन्यो मन्त्रालय भागबण्डाको खाका


 


काठमाडौं, चैत्र १२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मन्त्रालयको भागबण्डा टुंग्याउन प्रचण्डले सत्ता साझेदारी दलहरूसँग अन्तिम छलफल गर्ने तयारीमा छन् ।

प्रचण्डले मन्त्रालय भागबण्डाको खाका तयार गरीसकेका छन् । जसअनुसार कांग्रेसलाई ८ मन्त्रालय र माओवादीले ५ मन्त्रालय पाउनेछन् । त्यसैगरी एकिकृत समाजवादीले २ र जनता समाजवादीले २ मन्त्रालय पाउनेगरी खाका तयार गरेको बालुवाटार स्रोतले जनाएको छ । त्यसैगरी प्रचण्डले बनाइएको खाकामा सत्तासाझेदारी साना दललाई एक-एक मन्त्रालय छुट्याइएको छ । उक्त खाकालाई सत्तागठबन्धनको बैठकमा पेश गरेर अन्तिम रुप दिने तयारी छ ।

माओवादीले सम्हालेको केही मन्त्रालय हेरफेर हुने भएको छ । प्रधानमन्त्री प्रचण्ड रहेकाले माओवादीले अर्थ वा गृह मन्त्रालय एक पाउनुपर्ने बताएको थियो । जसअनुसार माओवादीले गृहमन्त्रालय पाउने पक्का जस्तै भएको छ शनिबार मात्रै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्‌कासँग छलफल गरेर गृह माओवादीले राख्‍ने सहमति भएको बालुवाटार स्रोतले जानकारी दियो ।

देउवासँगको छलफलपछि प्रचण्डले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय फेरेर गृहमन्त्री बनाउने तयारी गरेको उनी निकट एक नेताले बताए । आज मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको छ । एक सय दिन पुगेको अवसरमा उनले मन्त्रालयमा पत्रकार सम्मेलन राखेका छन् ।

प्रचण्डले चैत १० गतेसम्म मन्त्रिपरिषद्‌ विस्तार गरिसक्‍ने बताएका थिए । आइतबार सत्तारुढ दलहरू बसेर टुंगो लगाउँदै सोमबारसम्मका मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ ।

प्रकाशित मिति: १२ चैत्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्