उद्योग वाणिज्य संघकै व्यक्तिहरुबाट व्यवसायीलाई ज्यान मार्ने धम्की


 


काठमाडौं । चाँगुनारायण पार्टी प्यालेस एण्ड टेन्ट हाउस प्रालिका सञ्चालक नविन केसीले आफूलाई उद्योग वाणिज्य संघ संघ, सितगंगा–अर्घाखाँचीका पदाधिकारीहरु र होटल दरबारका सञ्चालक तिलक अधिकारीबाट ज्यान मार्ने धम्की आएको बताएका छन् । उनले आफ्नो सामान कब्जा गरेको र आफूमाथि अन्याय गरेको भन्दै न्यायको लागि सरकारसमक्ष हारगुहार गरेका छन् ।

आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै पीडित केसीले आफू निकै ठूलो तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै यसमा संलग्न दोषीहरुलाई कारबाही गर्न र आफूलाई क्षतिपूर्ति दिलाउन माग गरेका हुन् । सितगंगता उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको १३ दिने महोत्सवमा उनले सामान उपलब्ध गराएका थिए । तर, संघका पदाधिकारी र होटल सञ्चालकले जबरजस्ती आफूलाई कागज गर्न लगाएको सुनाए ।

उनले उक्त महोसत्वको लागि आफूले संघसँग सम्झौता भने नगरेको स्मरण गराए । बरु, आफूले गौतम बुद्ध एक्युपमेन्ट प्रालिका रामबाबु शाह र उनका छोराहरु प्रितेश तथा रितेश शाह नामबाट सञ्चालित कम्पनीसँग तीन लाख ७५ हजार भाडा पाउनेगरि टेण्डका सामान उपलब्ध गराएको उनको दाबी छ ।

उनले सितगंगा उद्योग वाणिज्य संघ ठाडाँ, अर्घाखाँचीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत स्थानीय होटल व्यवसायीहरुले मिली उद्योग वाणिज्य संघको लेटरप्याडमा बैशाख १२ गते रातिको २ बजे होटल दरबारका सञ्चालक तिलक अधिकारीले होटलमा भेला गरि आफूलाई गाली गलौच गरी कागज गर्न लगाएको आरोप लगाए । उनीहरुले आफूलाई ज्यान लिन पनि पछि नपर्ने भनेर धम्कीसमेत दिएको बताए ।

अहिले सामान राख्ने डब्बाको दैनिक १० हजार भाडा पनि तिर्नुपरेको उनको गुनासो छ । उनले अहिलेसम्म मैले पाउनुपर्ने भाडा आयोजकबाट नपाएको र उल्टै आफना सामान कब्जामा राखिएको दाबी गरे । उक्त विषयलाई लिएर आफूले स्थानीय प्रहरी निरीकक्षकलाई पनि भनेको सुनाए । तर, त्यहाँबाट कुनै सुनुवाई नभएको उनको गुनासो छ ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्