नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसांसद शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी


 


काठमाडौं, वेशाख ३१
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । स्रोतका अनुसार सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए ।

दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा छन् । शेर्पालाई प्रहरीले खोजिरहेको छ । सोही क्रममा शनिवार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो ।

आङटावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेको बताइएको छ ।

बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेलगत्तै मैजुबहालस्थित घरमा ताला लगाएर शेर्पा फरार छन् । २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्