७ दिनभित्र रमाना नलिने र नदिने कर्मचारी कारबाही गरिने


 


काठमाडौं, जेठ २ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले ७ दिन भित्र रमाना नलिने र नदिने दुवै कर्मचारीलाई विभागीय कारबाही गर्ने बताएका छन् । उनले यसका लागि परिपत्रसमेत भइसकेको समेत बताए ।

सेवा निवृत्त राष्ट्रसेवक संघ नेपालको चौथो महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । जसको जहाँ सरुवा भएको छ, त्यहाँको लागि रमाना नलिने र कार्यालय प्रमुखले पनि रमाना नलिने गरी भइरहेको बेथिति अन्त्यका लागि ७ दिनभित्र रमाना लिन वा दिन मन्त्रीस्तरीय निर्णयबाट परिपत्र भइसकेको बताए । उनले भने, ‘७ दिनभित्र यो प्रक्रिया पूरा गर्ने जो कोही माथि विभागीय कारबाही हुन्छ ।’

उनले बढुवा भएका कर्मचारीहरूलाई अनिवार्य रूपमा स्थानीय तहमा खटाएको समेत बताए । वि.स. २०५३ सालमा स्थापना भएको यो संगठनमा देशभरका सेवा निवृत्त निजामती कर्मचारी, शिक्षक, प्राध्यापक, नर्स, डाक्टर, इन्जिनियर लगायत संगठित रहेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री मोदीले पूर्व राष्ट्रसेवक कर्मचारीहरूको विवेक, क्षमता र अनुभवलाई राज्यले उपयोग गर्नुपर्ने बताए । सेवा निवृत्त राष्ट्र सेवकहरूलाई यातायात र स्वास्थ्य उपचार सुविधामा सहुलियत दिने विषयमा सरकारले आवश्यक गृहकार्य गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्