मेयर बालेनले फेरि कहाँ–कहाँ चलाउँदैछन् डोजर ?


 


काठमाडौं, जेठ ३ । काठमाडौं महानगरपालिकाले सामाखुसी खोला छोपेर बनाएको दुई वटा घर सहित दर्जनौ टहरा सहित अवैध संरचना हटाउने भएको छ ।

महानगरको शहरी व्यवस्थापन विभाग प्रमुख शाक्यले सामाखुसी खोलाको स्थलगत निरीक्षण गरी तयार भएको प्रतिवेदनको आधारमा खोला छोपेर निर्माण गरिएको संरचना हटाउने तयारी भएको बताए। उनले कामपाले हेभी इक्युपमेन्टको खोजी गरिरहेको र एकदुईदिनबाट संरचनामा डोजर चलाउन शुरुगर्ने बताए ।

सो खोलाले कामपाको ३, १६ र २६ वडाको केहीक्षेत्र ओगटेको छ । त्यसमध्ये पहिलो चरणमा सबैभन्दा बढी क्षेत्रफल ओगटेको वडा नं ३ को करिब ३ किलोमिटर खोलाको भाग खाली गर्न लागेको हो ।

कामपाले गतवर्ष फागुन १५ गते सामाखुसी खोला वरपर क्षेत्रमा निर्मित अनधिकृत संरचना हटाउन समिति गठन भएको थियो । समितिले सोही महिनाको २६ गते तिलिङगाटार प्रहरी बिटदेखि चिरायु अस्पताल चक्रपथसम्मको स्थलगत निरीक्षणगरी गतवर्ष चैत २२ गते प्रमुख प्रशासकीय अधिकृतलाई प्रतिवेदन बुझाएको थियो ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले एकदुईदिनभित्र खोलामाथि राखिएको स्ल्याभ खुला गर्ने जानकारी दिए । उनका अनुसार २०६६ साल अघिको मापदण्ड अनुसार दायाँ बायाँ १ मिटर छाड्नुपर्ने व्यवस्था थियो । त्यसपछि ४–४ मिटर छाड्नुपर्ने मापदण्ड बनेको छ, सोही आधारमा खोलाको भाग खुला गर्न लागिएको हो ।

सो क्षेत्रमा मोटरसाईकल वर्कसप, विभिन्न सामाजिक संघ संस्थाको भवन, टेलर, खाजाघर लगायतका संरचना रहेका छन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्