कोशी सरकारबाट माओवादी र जसपालाई फिर्ता हुन कांग्रेसको आग्रह
विराटनगर, जेठ ४ । नेपाली कांग्रेसले नेकपा माओबादी केन्द्र र जनता समाजबादी दललाई कोशी प्रदेश सरकारबाट फिर्ता हुन औपचारिक आग्रह गरेको छ । कांग्रेस संसदीय दलको बैठकले केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध दलले तत्काल कोशी प्रदेश सरकारबाट बाहिरिनुपर्ने निर्णय गरेको हो
यसअघि काठमाडौंमा बसेको कांग्रेस दलको अनौपचारिक बैठकले पनि यस्तै निर्णय गरेको थियो । बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस संसदीय दलका नेता उद्धब थापाले कोशी प्रदेशमा कांग्रेस अप्ठ्यारो परिस्थितमा हिँड्नु परेको बताए ।
कांग्रेस दलको बैठकले पहिचानको माग गर्दै भइरहेको आन्दोलनलाई समाधान गर्न सरकारको तर्फबाट मन्त्रीस्तरीय कार्यदल गठन गर्न पनि माग गरेको छ । थापाले कोशीको अर्थ मन्त्रालयबाट रकमान्तर गरेर सांसदलाई ल्यापटप दिने निर्णयको पनि विरोध गरिएको बताए ।