सुदूरपश्चिममा अढाई वर्षपछि सरकारको नेतृत्व माओबादी केन्द्रले गर्ने


 


काठमाडौं, जेठ ५ । सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारका लागि भागबण्डा गर्ने क्रममा थप एक अर्को सहमति पनि भएको छ । सत्ता गठबन्धन दलबीच अढाई वर्षपछि प्रदेश सरकारको नेतृत्व माओबादी केन्द्रले गर्ने सहमति भएको हो ।

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिल्नुका साथै दुई वर्षपछि सरकारको नेतृत्व माओबादी केन्द्रले गर्ने सहमति भएको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

प्रदेश सरकारमा भागबण्डा मिलेसँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्र संसदीय दलका नेता भट्टले जानकारी दिए ।

कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी तीन वटै दलले एक÷एकजना राज्यमन्त्री पनि पाउनेगरी भागबण्डा टुंगिएको उनले बताए । उनका अनुसार माओवादी केन्द्रका तर्फबाट कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंगिएको छ ।

कांग्रेसले भने मन्त्रीको नाम टुग्याउन बाँकी छ । कांग्रेसमा प्रदेशसभा सदस्य शिवराज भट्ट, पृथ्वीराज जोशी र मेघराज खड्का मन्त्रीका आकांक्षी छन् ।

नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर भागमा एक मन्त्रालय मात्रै परेपछि कसलाई पठाउने भनेर निर्णय हुन बाँकी रहेको बताइएको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्