एभरेस्ट बैंकको इटहरी शाखा प्रमुखसहित ९ जना पक्राउ


 


काठमाडौं, जेठ ६ । सुनसरीको इटहरीस्थित एभरेस्ट बैंकको शाखाप्रमुखसहित ९ जना पक्राउ परेका छन् । बचतकर्ताको डेढ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर ठगी गरेको आरोपमा प्रहरीले शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार राईका अनुसार बचतकर्ताको रकम हिनामिना गर्ने कार्यमा शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यसहित ७ जना कर्मचारी र अन्य २ जनाको संलग्नता रहेको पाइएको छ।

पक्राउ पर्नेमा एभरेस्ट बैंकको गाइघाट शाखाका अपरेसन इञ्चार्ज विराटनगर घर भएका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय धावा लामा, कनिष्ठ सहायकहरू भोजपुर षडानन्द नगरपालिका–९ का २७ वर्षीय मनोज घिमिरे, इटहरी–७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ वर्षीय रन्जित पण्डित र इटहरी–२ की ३० वर्षीया पवित्रा कटवाल रहेका छन्।

रकम ठगी गर्ने कार्यमा संलग्न रहेको देखिएपछि धनुषाका शंकर भुजेल र भक्तपुरको सूर्यविनायकका अजय खिउजुलाई पनि पक्राउ गरिएको डीएसपी राईले जानकारी दिए।

एभरेस्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना बचतकर्ताको खाताबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ ‘चोरी’ भएको पाइएको डीएसपी राईले बताए।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्