बझाङको साइपालमा अमेरिकी सेनाले क्याम्प राखेको प्रचार ! संसदमा उठ्यो आवाज


 


काठमाडौं, जेठ ९ । बझाङको साइपाललमा अमेरिकी सेनाले क्याम्प राखेको भनेर सामाजिक सञ्जालमा प्रचार भएपछि संसदमा यसबारे आवाज उठेको छ । नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बझाङको साइपाल गाउँपालिकाको माझा भन्ने ठाउँमा अमेरिकाले सैनिक क्याम्प खडा गरेको भनी गलत प्रचार गरिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नेपाली भूमिमा अमेरिकाले सैनिक क्याम्प खडा गरेको भन्ने गलत प्रचारका पछाडि लुकेको रहस्यबारे छानबिन गर्न मागसमेत गरे ।

आफूलाई राजनीतिक विश्लेषक भन्ने भरत दाहालले यही जेठ ६ गते भिडिओ बनाएर बझाङ जिल्लाको साइपाल भन्ने गाउँपालिकाको माझा भन्ने ठाउँमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेर बसेको बताएका छन् । उनले भिडिओमा क्याम्प वरपर स्थानीयलाई प्रवेश गर्न पनि नदिइएको र यस कार्यमा स्थानीय प्रशासनको पनि संलग्नता रहेको आरोप लगाएका छन् ।

उनले यसमा केही नेपाली कांग्रेस र एकीकृत समाजबादीका स्थानीय कार्यकर्ताहरुले अमेरिकी सेनालाई राख्न सहयोग गरेको आरोप लगाएका छन् । साथै उनले क्पाम्पबाटै धर्म प्रचार पनि भइरहेको बताएका छन् ।

यस्तो समाग्री प्रशारण भएपछि आफूले स्थानीय नागरिक र सबै जनप्रतिनिधिसँग सोध्दा कहीँ केही नभएको थाहा लागेको सांसद जोशीले संसदमा सुनाए। उनले यस विषयमा छानबिन गर्न माग गरेका छन्।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्