शिवशिखर सहकारी ठगी प्रकरण : थप एक जना पक्राउ, प्रहरीमा ९ सय बढी उजुरी


 


काठमाडौं, जेठ ९ । शिव शिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) टोलीले अमि राजभण्डारीलाई नियन्त्रणमा लिएको हो। सीआईबीको टोलीले वैशाख २७ गते सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

पक्राउ पर्नेमा बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका पुष्कर मल्ल रहेका छन्। गीता शिखर अर्गनाइजेसनको निर्देशक तथा सहकारीका पूर्व अध्यक्ष केदारनाथ शर्माकी श्रीमती हुन् । केदार पनि फरार छन् । सहकारीका सीईओ लीलानाथ गौतम पनि प्रहरीको खोजी सूचीमा छन्।

बचतकर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै उजुरी दिएपछि प्रहरीले सहकारीको ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको सहकारीमा ९ जना सञ्चालक सदस्य छन् । जसमा दुई सञ्चालकबाहेक बाँकी फरार छन्। उनीहरू सबैको ठगी प्रकरणमा खोजी भइरहेको प्रहरीले जनाएको छ।

सहकारीको काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाहरूका शाखा रहेको छ। ३५ वटा जिल्लामा यसको शाखा रहेको भेटिएको छ। कुनै जिल्लामा एकदेखि तीन वटासम्म शाखा छन्।

सीआईबीको प्रारम्भीक अनुसन्धानमा सहकारीमा १४ अर्ब निक्षेप भएको खुलेको छ । त्यसमा ५÷६ अर्ब लगानी भए पनि बाँकी रकम कहाँ गयो भन्ने देखिएको छैन। जसमा प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

प्रहरीले अहिलेसम्म ९ सय ३७ जनाले सीआईबीमा उजुरी दिइसकेको बताएको छ । जसमा उनीहरुको ६१ करोड रुपैयाँ हिनामिना भएको भन्दै माग दाबी गरेका छन्। अझै पीडित प्रहरीको सम्पर्कमा आउने क्रम नरोकिएको प्रहरीले जनाएको छ ।

जिल्लामा शाखा रहेको कार्यालयका कर्मचारी पनि यस प्रकरणमा तानिने भएका छन्। उनीहरू पनि अनुसन्धानको घेरामा रहेको एक प्रहरी अधिकृतले जानकारी दिए। चितवन, हेटौँडा, पोखरा, कञ्चनपुर, कैलालीलगायतका शाखाहरूबाट बदमासी भएको देखिएको छ।

सहकारीले कुनै पनि अचल सम्पत्ति (घर जग्गामा) लगानी गर्न नपाउने भएपनि शिवशिखरले घर–जग्गादेखि विभिन्न मार्ट, खाद्यन्न स्टोरलगायतमा लगानी गरेको खुलेको छ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्