आगामी बजेट सवा ८ खर्बको


 


काठमाडौं, जेठ २७

काठमाडौं-भूकम्पले ठूलो मात्रामा मानवीय र भौतिक विनाश गरेपछि बजेटको आकार अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतभन्दा धेरैले बढ्ने भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलले आगामी आर्थिक वर्ष २०७२/०७३ का लागि सवा ८ खर्बको बजेट बन्ने जानकारी दिएका छन्।

‘राजस्वबाट ४ खर्ब ६० अर्ब, आन्तरिक स्रोतबाट १ खर्ब र वैदेशिक सहायता तथा ऋणबाट २ खर्ब ५० अर्ब रुपैयाँ जुटाउने गरी बजेट बनाइन्छ,’ नेपाल चेम्बर अफ कमर्सले मंगलबार आयोजना गरेको ‘भूकम्प प्रभावित क्षेत्रको पुनरुत्थान, पुनर्निर्माण र आर्थिक उन्नति’ विषयक अन्तर्क्रियामा उपाध्यक्ष पोखरेलले भने, ‘यस वर्ष पुनर्निर्माणमा धेरै रकम खर्च हुने सम्भावना छ।’ चालु आर्थिक वर्षका लागि सरकारले ६ खर्ब १८ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।
यो वर्ष ५ खर्ब १० अर्ब रहेको राजस्व संकलन लक्ष्य आगामी वर्ष ४ खर्ब ६० अर्ब रुपैयाँ हुनेछ। कार्यक्रममा उपाध्यक्ष पोखरेलले निजी क्षेत्रलाई हित हुने गरी नीति, नियम ल्याइने बताए। ‘निजी क्षेत्रको उन्नतिबिना देश आर्थिक रुपमा सबल हुँदैन,’ उनले भने, ‘स्वदेशी उद्योग–धन्दा फस्टाउने खालको नीति, नियम बन्छ।’
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भूकम्पले उद्योगी व्यवसायी प्रभावित भएको भन्दै आयकरको अन्तिम किस्ता बुझाउने समय कम्तीमा तीन महिना थप गर्न आग्रह गरे। बैंकले लिने ब्याज निश्चित समयका लागि घटाउन, भूकम्पपीडितलाई २ प्रतिशत ब्याजमा उपलब्ध हुने ऋणको कार्यविधि सरल बनाउन उनले जोड दिए। भूकम्पले वाणिज्य क्षेत्रमा पुर्यारएको क्षतिबारे चेम्बरले तथ्यांक संकलन गरिरहेको उनले जानकारी गराए।

प्रकाशित मिति: २७ जेष्ठ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्