श्रीगढीमाई बहुमुखी क्याम्पसलाई १४ कठ्ठा जग्गा दान


 


बारा, जेठ ११
श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले रु ५६ लाख बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन् । केही समयअघि क्याम्पसको आयोजनामा श्रीमद् भागवत तथा गढीमाई महोत्सवका अवसरमा विभिन्न व्यक्तिले क्याम्पसलाई जग्गा दान गर्न प्रतिबद्धता जनाएका थिए ।

सोही अनुसार उनीहरुले क्याम्पसलाई जग्गा दान गरेका हुन् । महागढीमाई नगरपालिका–१ का नागेन्द्रप्रसाद चौधरीले १० कठ्ठा तथा पन्नालाल प्रसाद, प्रेम प्रसाद, सुमित्रा देवी र नरेशप्रसाद जयसवालले एक–एक कठ्ठा जग्गा दान गर्नुभएको क्याम्पस सञ्चालक समितिका सदस्य अमित चौधरीले जानकारी दिनुभयो ।

पाँचै जनाले बुधबार मालपोत कार्यालयमा गई जग्गा क्याम्पसको नाममा पास गरी लालपुर्जा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयकुमार स्वर्णकार र क्याम्पस प्रमुख धर्मेन्द्रप्रसाद यादवलाई हस्तान्तरण गरे । यसैगरी क्याम्पसले महायज्ञबाट सङ्कलन भएको रकमबाट रु चार लाखका दरले थप चार कठ्ठा जग्गा खरिद गरेको अध्यक्ष स्वर्णकारले जानकारी दिए ।

प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्