नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तहरू अझै कम्तिमा एक साता हिरासत बस्ने


 


काठमाडौं, जेठ ११ । नक्कली शरणार्थी प्रकरणको आरोपमा पक्राउ परेकाहरुको हिरासत बसाई अझै लम्बिएको छ । पक्राउ परेका १६ जना अभियुक्तको बयान सकिन समय लाग्ने भएकाले अभियुक्तहरूको हिरासत बसाई लम्बिने देखिएको अधिवक्ता रामनारायण बिडारीले बताए ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित पक्राउ परेका १६ र फरार रहेका १४ जनाविरूद्ध बुधबार मात्रै मुद्दा दायर भएको हो ।

आरोपीलाई राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र किर्तेगरी गरी चार कसुरमा अभियोग लगाइएको छ । २८ करोड बराबर बिगो माग दाबीसहित दर्ता भएको मुद्दामा प्रतिवादीहरूको बयान शुक्रबारबाट मात्रै सुनुवाइ हुनेछ । बुधबार अबेर मुद्दा दायर भएको र बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेकाले भोलिबाट बयान लिन लागिएको हो ।

पक्राउ परेका १६ जनाको बयान सकिएपछि अदालतले प्रतिवादीलाई धरौटीमा छाड्ने वा पुर्पपक्षका लागि चेल चलान गर्ने भन्ने सम्बन्धमा आदेश दिनेछ । बिडारीका अनुसार वादी/प्रतिवादीका कानुन व्यवसायीबाट थुनछेक बहस हुनेछ र त्यसपछि मात्रै न्यायाधीशले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्नेबारे आदेश हुनेछ ।

अदालतमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बाहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राई छन् । गिरोहका सदस्यहरूमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंकबहादुर गुरुङविरुद्ध मुद्दा दायर भएको छ ।

यसैगरी सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, शमशेर मिँया, टेकनाथ रिजाल, लक्ष्मी महर्जन छन् । त्यस्तै केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दिपा हुमागाँई, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापा छन् ।

प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्