अमेरिकी राष्ट्रपतिमा रोन डेसान्टिसको उम्मेदवारी घोषणा, बाइडेनलाई दिनसक्छन् चुनौती


 


एजेन्सी । सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट रोन डेसान्टिसले उम्मेदवारी घोषणा गरेका छन् ।

उनले स्थानीय समयअनुसार बुधबार रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरे ।

रोनको उम्मेदवारी घोषणाको प्रत्यक्ष प्रसारण सुन्न ५ लाखभन्दा बढी ट्वीटर प्रयोगकर्ता व्यग्र प्रतीक्षामा थिए । त्यही समयमा ट्वीटरमा समस्या आएपछि केही समयका लागि प्रत्यक्ष प्रसारण अवरुद्ध बनेको थियो । प्राविधिक समस्या समाधान भएपछि पुनः रोनले सम्बोधन गर्दा त्यो सँख्या घटेर २ लाख ५० हजारमा झरेको थियो ।

४४ वर्षीय रोन अमेरिकी सेनाका पूर्वअधिकारी पनि हुन् । उनी अहिले फ्लोरिडाका ४६औँ गभर्नर पनि हुन् । उनले सन् २०१९ देखि उक्त पद समाल्दै आएका छन् ।

सन् २०१३ देखि सन् २०१८ सम्म उनी अमेरिकी तल्लो सदनका सदस्य पनि थिए । उनले आफूले मात्र आगामी राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनलाई चुनौती दिन सक्ने दाबी गरेका छन् । यद्यपि, उनी गत नोभेम्बरमा मात्र फ्लोरिडाको गभर्नरमा पुनर्निर्वाचित भएका थिए ।

प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्