रेशम चौधरीलाई माफी दिने प्रयासविरुद्ध पीडित राष्ट्रपति कार्यालयमा निवेदन दिँदै


 


काठमाडौं, जेठ १२ । सरकारले रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने तयारी गरेपछि टीकापुर घटनाका पीडित सरकारको उक्त प्रयासविरुद्ध राष्ट्रपति कार्यालयमा निवेदन दिने भएका छन् ।

टीकापुर घटनामा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा कडायत बोहराले राष्ट्रपति कार्यालयमा निवेदन दिन लागेकी हुन् । राजनीतिक सौदाबाजी गर्न अपराधीलाई माफी दिन लाएिको भन्दै राष्ट्रपतिसमक्ष निवेदन बुझाउन लागेको उनले बताइन् ।

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक केशव बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो । प्रदर्शनको नेतृत्व रेशम चौधरी अदालतको फैसलाअनुसार जेलमा छन् । जिल्ला अदालत, उच्च अदालत डोटी र सर्वोच्च अदालतले रेसमविरुद्ध जन्मकैद फैसला गरेको छ ।

जन्मकैदको फैसला ठहर भएका रेशमलाई आममाफी दिन सरकारले राष्ट्रपतिको कार्यालयसँग राय मागेको छ । चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत हुन् ।

प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्