जनमत पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म अपमान, छोड्न सक्छ सरकार


 


काठमाडौं, जेठ १२ । जनमत पार्टी संघीय सरकारदेखि केन्द्र सरकारसम्म अपमान गरिएको भन्दै असन्तुष्ट छ । सरकारबाट असन्तुष्ट बनेका बेला केन्द्रीय समितिको बैठक काठमाडौंमा चलिरहेको छ ।

बैठकमा मुख्य विषय नै सरकारलाई दिइएको समर्थन फिर्ता लिने वा नलिने भन्ने छ । त्यस्तै पार्टीको विधान, संगठन निर्माणलगायतका विषयमा पनि छलफल भइरहेको एक नेताले बताए ।

‘जनमत पार्टीलाई केन्द्रदेखि प्रदेश सरकारसम्म पटक पटक अपमान गरिएको थियो । सरकारमा रहने कि नरहने केन्द्रीय समितिको बैठकले निर्णय गर्छ’ ती नेताले भने । केन्द्र सरकारमा सो पार्टीले उद्योग वा कृषि मन्त्रालय माग गरेको थियो तर खानेपानी मन्त्रालय चित्त बुझाउनुपरेको थियो ।

जनमतका अध्यक्ष डा. सिके राउतलाई अर्को मन्त्रालय दिने आश्वासन दिइएपनि सो पार्टीलाई अर्को मन्त्रालय दिइएन । जहिले जनमत पार्टीले समर्थन गरेपनि सरकारमा प्रतिनिधित्व छैन । त्यस्तै, मधेश प्रदेशमा पनि जनमत पार्टीका कृषिमन्त्री र कृषि राज्यमन्त्री सञ्जय यादवलाई जिम्मेवारीविहिन बनाइएको छ ।

‘दुवै सरकारमा पटक पटक अपमानित हुँदै आएको जनमत पार्टी सरकार बारेमा सोच्न बाध्य भएको छ । सरकारको विषयमा आज कुनै ठोस निर्णय आउँछ’ ती केन्द्रीय सदस्यले बताए । बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्