गौहत्या गर्नेलाई सेवा सुविधा नदिइने, सूचना दिनेलाई पुरस्कार


 


बाँके, जेठ १२ । बाँकेको नरैनापुर गाउँपालिकाले गौहत्या गर्नेलाई गाउँपालिकाबाट दिइने सेवा सुविधा नदिइने भएको छ । पछिल्लो समय गाउँपालिका क्षेत्रमा गौ (गाई) हत्याको घटना बढ्न थालेपछि गाउँपालिकाले यस्तो कदम चालेको हो ।

राष्ट्रिय जनावर गौ हत्यामा संलग्न भएको पाइएमा त्यस्ता व्यक्तिलाई एक वर्षसम्म गाउँपालिकाबाट दिइने कुनै पनि सेवा सुविधा नदिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

साथै गौ हत्यामा संलग्नलाई कारवाही गर्ने निर्णय पनि भएको उनले बताए । उनका अनुसार गौ हत्यामा संलग्न भएको प्रमाणित भएमा एक वर्षसम्म गाउँपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध गराइने छैन ।

यस्तै गौहत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई १५ हजार रुपैयाँ उपलब्ध गराइने छ। गाउँपालिकाले गौ हत्या नियन्त्रण गर्न सुरक्षाकर्मीहरूलाई अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्