संसद बैठक सूचारु गर्ने सहमति, ओलीलाई लागेको आरोप आधारहीन भएको निष्कर्ष


 


काठमाडौं, जेठ १३ । नेकपा एमालेले अवरुद्ध गरेको प्रतिनिधिसभा बैठक सूचारु गर्ने सहमति भएको छ । शनिबार बिहान सिंहदरबारमा तीन दलका शीर्ष नेता र प्रमुख सचेतकबीच भएको छलफलपश्चात संसद बैठक सुचारु हुने भएको हो।

बैठकपश्चात एमाले प्रमुख सचेतक पदम गिरीले सदन सुचारु गर्ने विषयमा सहमति भएको जानकारी दिए। बैठकमा पशुपतिनाथको विषयमा एमाले अध्यक्ष केपी ओलीमाथि लगाएको आरोप आधारहीन भएको निष्कर्ष निकालिएपछि बैठक सूचारु गर्ने सहमति भएको उनले बताए ।

उनका अनुसार बैठकमा सत्ता पक्षका सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको छ।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षा मन्त्री पूर्णबहादुर खड्कालगायतका नेताहरु सहभागी छन्।संसद बैठक आज ४ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ।

शुक्रबार बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेको थियो। माओवादी केन्द्रका सांसद राजन दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुर राख्दा सुनमा पित्तल मिसाएको आरोप लगाएको थियो। सोही विषयलाई लिएर एमालेले संसद अवरोध गरेको थियो। माओवादी सांसद दाहाललाई आरोप पुष्टि गर्न एमालेले चुनौती दिएको थियो।

सरकारले स्पष्ट जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने एमालेको चेतावनीपश्चात प्रधानमन्त्रीले छलफलका लागि सत्ता र प्रतिपक्ष दलका नेतालाई सिंहदरबारमा बोलाएका हुन्।

प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्