देउवाले भने : कांग्रेसको अझै आलोचना गर्नुस्


 


काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई आलोचना चाहिने भएकाले अझै आलोचना गर्न आग्रह गरेका छन्।

शनिबार नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवसको अवसरमा आयोजित ‘प्रशिक्षण वर्ष २०८०’लाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई आलोचना चाहिने बताएका हुन् ।

‘कांग्रेसको आलोचना गर्नुस्। कांग्रेसलाई आलोचना चाहिन्छ। तर स्वस्थ आलोचना गर्नुस्,’ उनले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो।’

यस्तै, नवनियुक्त प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रेस स्वतन्त्रताका नाममा समाजिक सञ्चालमार्फत पार्टीलाई आक्रमण भइरहेको आरोप लगाए। उनले प्रेस स्वतन्त्रताका लागि लोकतन्त्र बलियो हुनुपर्ने र लोकतन्त्र बलियो हुनका लागि पार्टी बलियो हुनुपर्ने औँल्याए।

त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी नेतृत्वप्रति असन्तृष्टि जनाउँदै ९ महिनादेखि सभापति देउवाले केन्द्रीय समितिको बैठक नै नबोलाएकोमा दुखेसो पोखे।

उनले चाँडो सम्पूर्ण विभागहरू गठन हुनुपर्ने र नेतृत्व तहले पार्टी सुदृढिकरणका लागि उचित कार्य नचाले आगामी २०८४ सालको निर्वाचनमा पार्टीको अवस्था धेरै नराम्रो हुने बताए।

प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्