Deshko News
१८ आश्विन २०८०, बिहिबार

चीनबाट हतियार खरिदका विषयमा झुक्याउँदै प्रधानसेनापति



काठमाडौं, जेठ १६
नेपाली सेनाले चीनबाट हतियार खरीद गर्न भित्रभित्रै तयारी अन्तिम चरणमा पुर्याएको छ । तर प्रधानसेनापति प्रभुराम शर्मा भने बाहिर सेनालाई हतियार आवश्यक नभएकले खरीद गर्न लागेको खबर सत्य नभएको भन्दै झुक्याउँदै हिँडेका छन् ।

अन्तर्राष्ट्रिय राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा संचारकर्मीहरुसंग कुराकानी गर्दै शर्माले सेनासँग हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले किन्नुपर्ने आवश्यकता नरहेको दाबी गरे पनि चिनियाँ दूतावासमार्फत ६ अर्ब बराबरको २६ वटा एपीसी र ७२ वटा टयाक्टिकल भेइकल खरिद गर्ने निर्णय गरिसकेको र गोलीसमेत चीनबाट खरिद गर्ने प्रक्रिया अघि बढेको पाइएको छ । यसका लागि एलसीसमेत मे १७ मा खोल्ने निर्णय गर्दै हिमालय बैंकलाई पत्र समेत पठाइसकेको द काठमाडौं पोस्टले लेखेको छ । सेनाले चीनबाट महंगोमा हातहतियार खरीद गर्दा कमिसनको खेल भएको आशंकासमेत गरिएको छ । चीनबाट खरीद गरिएको एपीसीको मूल्य भने सात करोड ७५ लाख रहेको छ । सेनाले जीटुजीका नाममा बिचौलिया प्रयोग गरेर चीनबाट गोप्य रुपमा कोटेशन मगाएर ठूलो मात्रामा महंगो मूल्यमा हतियारसहितको एपीसी खरिद गर्न लागेको छ । यो खरीदमा चिनियाँ कम्पनी नोरिन्कोले समन्वय गरिरहेको छ । यो कम्पनी अन्तर्राष्ट्रिय रुपमा कालोसूचीमा परेको प्रतिबन्धित कम्पनी हो ।

प्रधानसेनापति शर्माले यूएन मिसनका लागि हतियार नभएर विभिन्न भेहिकलका पार्टस् आवश्यकताका आधारमा सरकारको स्वीकृति लिएर ऐन, नीति, नियमको परिधिभित्र रहेर चीनबाट खरीद गर्न घुमाउरोरुपमा स्वीकार गरेका छन् । तर हालसम्म प्रतितपत्र नखोलेको दाबी गरेका छन् । यद्यपी शर्माकै उनकै जोडबलमा सेनाले चीनबाटै ७५ करोड रुपैयां बराबरको अर्को एम्युनिशन प्लान्ट खरिद गर्न प्रक्रिया अगाडि बढाइसकेको छ । सेनाले चीनबाट हतियार खरीद गर्दा सैनिक कुटनीतिमा असर पर्ने चिन्तासमेत व्यक्त गरिएका छन् । अमेरिका, बेलायत, भारत र चीनसंग मजबुत सैन्य सम्बन्ध भएको नेपाललाई यो डिलले शान्ति सेनामासमेत असर पर्नसक्ने चिन्ता छ ।

देशमा अहिले आर्थिक संकट गहिरिएका बेला सेनाले चार अर्ब ६० करोडमा प्लान्ट खरिद गर्न लागेको हो । त्यसको पहिलो किस्ता ७५ करोड भुक्तानी गर्न तयारी छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने एम्युनिशन प्लान्ट खरीदबारे कुनै जानकारी नभएको दाबी गरे । हातहतियार खरीदको विषय अगाडि नबढेको उनको भनाइ छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News