बजेटमा माग नसमेटिएपछि सरकारलाई महाविरको चेतावनी : ठूलो मूल्य चुकाउनुपर्ला


 


काठमाडौं, जेठ १६ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफूलाई हाकाहाकी झुट बोलेको बताएका छन् । सरकारले आविष्कार तथा नवप्रवर्तन (स्टार्ट अप) का लागि कुल विकास बजेटको एक प्रतिशत रकम छुट्याउने भनेर झुटो कुरा गरेको उनले आरोप लगाएका हुन् ।

गत १८ वैशाखमा सरकार र पुनबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउने सहमति भएको थियो । तर सरकारले आविष्कार र नवप्रर्तनका लागि १ अर्ब रुपैयाँ मात्र छुट्याएकामा पुनले असन्तुष्टि पोखेका हुन् ।

सामाजिक सञ्चाल फेसबुकमा उनले लेखेका छन्– बजेटमा छुटइएको तीन खर्ब २ अर्ब ७ करोड रुपैयाँका एक प्रतिशत भनेको ३ अर्ब २ करोड ७० लाख रुपैयाँ हुन्छ । कसरी १ अर्ब रुपैयाँ निकालियो ? यसरी हाकाहाकी ढाँट्ने काम नगरौं । सरकार धेरै बाठो नभए हुन्छ । हामी पनि लाटा छैनौं । ठूलो मूल्य चुकाउनुपर्ला । हिसाब सच्याउँ ।’

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विकास निर्माणका लागि छुट्याएको छ। आफूसँग भएको सहमति अनुसार सरकारले आविष्कार र नवप्रवर्तनका लागि ३ अर्ब २ करोड रुपैयाँ छुट्याउनुपर्ने पुनले बताएका छन्।

वजेट वक्तव्यमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विकास बजेटको १ प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्याउने नीति लिने उल्लेख गरेका छन् । तर अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेका छन् ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्