कक्षा १० को अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली


 


काठमाडौं, जेठ २२ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ ।

बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन ।

बजारमा पाइने गाइड, गेसपेसर जस्ता पुराना प्रश्नपत्रको सँगालोको आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न स्तरीकृत परीक्षा प्रणाली लागू गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

बोर्डले कक्षा ८, १० र १२ मा स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने तयारी गरिरहेको छ । त्यसका लागि नेपालभरका २५० जना शिक्षकहरुलाई देशभरका प्रश्नपत्रको स्तर एउटै बनाउनको लागि प्रशिक्षण दिइसकेको जनाएको छ । बोर्डका अनुसार कक्षा ८ र १२ मा आगामी वर्ष लागू हुनेछ ।

परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले विद्यालय तहको एउटै परीक्षार्थीको उत्तरपुस्तिकालाई फरक–फरक परीक्षकले परीक्षण गर्दा अंकमा धेरैले फरक पाइएको भन्दै त्यस्तो अन्तर घटाउन स्तरीकृत परीक्षा प्रणाली उपयुक्त हुने बताए ।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्