दादुरा रोग लागेको कसरी थाहा पाउने ? यस्ता छन् लक्षण तथा रोकथाम


 


काठमाडौं । दादुरा बाल्यकालको देखिने गम्भीर रोग हो। दादुरा प्यारामोक्सी भाइरस भनिने आरएनए भाइरसको सङ्क्रमणको कारणले हुन्छ।

भाइरस नाक र घाँटीको स्रावबाट फैलिएको थोपाबाट सर्छ। संक्रमण भएको व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासनलीबाट वा आँखाबाट सर्न सक्छ। सामान्यतया बिमिरा आएको ४ दिन अघिदेखि ५ दिनपछिसम्म दादुरा सर्ने गर्छ।

भाइरस श्वासप्रश्वासको नलीबाट संक्रमण सुरु भइ भाइरसले रेटिकुलोएन्डोथेलियल प्रणाली (कलेजो, फियो र फोक्सो) को संक्रमण गराउछ। परिणामस्वरूप सिस्टमीक लक्षणहरू निम्त्याउँछ। यस रोगको सङक्रमण अवधि १० दिनको हुन्छ।

लक्षणहरू
प्राय ५ वर्ष मुनिका बालबालिकामा लक्षण देखिने भए पनि यो रोग जुनसुकै उमेरका व्यक्तिहरूलाई लाग्न सक्छ। प्राय लक्षणहरू निम्न हुन्छन् :
ज्वरो
राइनोरिया (नाकबाट पातलो सिँगान बग्ने)
आँखा चिलाउने र आँखाबाट पानी आउने
प्रकाशमा हेर्न नसकिने (फोटोफोबिया)
सुख्खा खोकी
कोप्लिक स्पट (रोगको दोस्रो वा तेस्रो दिनमा देखा पर्दछ। गालाको भित्री भागमा दोस्रो बंगाराको भित्रपट्टि वरपरको एरिथिमा कोप्लिक स्पट देखिन्छ।)

सामान्यतया ज्वरो बढेको चौथो दिनमा बिमिराहरू देखा पर्छ।

बिमिराहरञ कान पछाडि, कपालको रेखा र गालाको पछाडिबाट सुरु हुन्छन् र बिमिराहरु अनुहार, घाँटी, छाती हात, खुट्टामा अर्को २–३ दिनमा फैलिन्छन्।

बिमिराहरू जुन क्रममा देखिन्छन् त्यहि क्रममा घट्दै जान्छन् ।

१० दिनमा बिमिराहरू फिक्का हुन्छन्।

जटिलता
यस रोगले निम्त्याउने जटिलताहरू निम्न छन्ः
कानको संक्रमण
पखाला
निमोनिया
ब्रोन्कियोलाइटिस
लामो समयपछि हात खुट्टा नचल्ने
कान नसुन्ने हुन सक्छ
फेबराइल सिजर
गर्भवती महिलाहरू भएमा बच्चा खेर जाने तथा मरेको बच्चा जन्मिने
दादुराको सङ्क्रमण भएमा तुरन्त डाक्टरसँग सम्पर्क गरेर उपचार गराउनु पर्छ र पोषण युक्त खानेकुरा र सरसफाइमा ध्यान दिनुपर्छ। दादुराबाट अपाङ्ता र मृत्यू सम्मको स्थिती सिर्जना हुनसक्छ त्यसैले सावधानीको आवश्यकता रहन्छ।

उपचार र रोकथाम
यस रोगको कुनै पनि औषधि छैन। र उपचार लक्षणको आधारमा लक्षणलाई कम गर्ने गरी गरिने उपचार पद्दति प्रयोग गरिन्छ। दादुरा नै लागको हो भनेर निर्क्यौल गर्न बिरामीको शरिरमा एलजीएम एन्टिमासेल्स एन्टिबडीको जाँच गरिन्छ यो इन्टिबडी बिमिरा आएको ३ दिन पछि देखि १ महिनासम्म सहन्छ।
उपचार
ज्वरोको लागि औषधी खाने
स्वच्छता तथा सरसफाइमा ध्यान दिने
पर्याप्त तरल पदार्थ खाने, शिशुहरूले आमाको दुध पिउने
पोषिलो खानेकुरा खाने
नजिकैको स्वास्थ्य चौकीबाट उमेर तालिका अनुसार भिटामिन ए सेवन गर्ने यसले दादुराको बिमारी र मृत्युदर घटाउँछ

रोकथाम
यो रोगको एकमात्र प्रभावकारी रोकथाम भनेको दादुरा विरुद्धको सुई हो। राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरूलाई दादुरारुबेलाको खोप नौ महिना र १५ महिनामा दिइन्छ। आफ्ना परिवार र समाजमा रहेका बालबालिकाहरूले दादुराको सुई लिएका छन् या छैनन् ध्यान दिनुहोस्।

डा. समीक्षा निरौला

प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्