गर्मीमा के खाने, के नखाने ?


 


अहिले गर्मीको समय छ । तापक्रम बढेर नयाँ नयाँ किर्तिमान कायम गर्दैछ । गर्मी जति बढेपनि कामकाजी मानिसहरुले गर्मीको बेवास्ता गरेरै काम गर्नुपर्ने हुन्छ । यस्तोमा सरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसन हुने लगायतका विभिन्न खाले संक्रमण तथा स्वास्थ्य समस्या देखिन सक्छन् । डिहाइड्रेसनको खतरा गर्मी याममा निकै बढि हुने भएकाले आफ्नो खानपिनको आदतमा विशेष ध्यान दिन र जिउको रोगप्रतिरोधी क्षमता बढाइराख्न विशेषज्ञहरुले सल्लाह दिने गरेका छन् ।

पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ । त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रसस्त सलाद लिनु जरुरी हुन्छ । गर्मी याममा सरीरमा पानीको पर्याप्त आपूर्तिका लागि प्रसस्त पानीको मात्रा हुने सागसब्जी तथा तरकारीहरु जस्तै फर्सी, करेला, लौका, पालुंगो, हरियो सिमीको भोजन गर्नुपर्छ ।

कामकाजी मानिसहरुका लागि रोगप्रतिरोधी क्षमता उच्च राख्नु अत्यन्त जरुरी हुन्छ । सोही कारण गर्मी याममा खाजाको रुपमा पनि दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ । त्यसका साथै बिहानको खानामा दालभात समावेश गर्नु राम्रो हुन्छ ।

बेलुकीको खानामा फाइबरयुक्त सागसब्जी, बन्दा तथा काउली र रोटीको सेवन गर्नु स्वस्थकर हुने र जिउले पचाउन सजिलो हुने बताइन्छ ।

गर्मी याममा डिहाइड्रेसनबाट बच्नका लागि ग्रीन टी अर्थात् कोल्ड कफीको सेवन निकै लाभदायी हुन्छ । गर्मीको समयमा सरीको पाचन प्रणालीमा समेत समस्या आउने भएकाले हल्का खाना खानुपर्छ नत्र अपच हुने जोखिम हुन्छ । लामो समयको अन्तरालमा धेरै खानेकुरा खानुभन्दा छिटो छिटो तर थोरै थोरै खानेकुरा खाएमा पचाउन सजिलो हुन्छ ।

त्यस्तै तरभुजा, खरभुजा, कांक्रो, लिची, स्याउ जस्ता मौसमी फलफुल खानुपर्छ, जसले सरीरमा पानीको पर्याप्त आपूर्ति गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । बजारमा पाइने चिसो पेय पदार्थको साटो दही, उखुको रस, नरिवल पानी तथा लस्सी पिउनु आवश्यक हुन्छ ।

अपच भएको अर्थात् पेटमा गडबडी भएको महसुस हुने बित्तिकै कागती पानी वा पुदिना पानी पिउनुपर्छ । पानी पर्याप्त मात्रामा पिउनुपर्छ, कम्तिमा पनि दिनको ३-४ लिटर ।

तेलमा तारेका, भुटेका खानेकुराहरु नखानु नै राम्रो हुन्छ । खानेकुरा पकाएर लामो समयसम्म नराख्नुहोस्, छिटै खानुहोस् । बासी खानेकुरा खाँदा रोगको संक्रमण हुने जोखिम हुन्छ ।

गर्मीमा चिया तथा तातो कफीले पनि फाइदा गर्दैन । बढि चिल्लो तथा नुनयुक्त ड्राइफुड्स तथा जंक फुडहरुको सेवन नगर्नु राम्रो हुन्छ । जाँडरक्सी तथा धुम्रपानको सेवन गर्मीयाममा अझ बढि हानिकारक मानिन्छ । -एजेन्सी

प्रकाशित मिति: २८ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्