प्रधानमन्त्री राहत कोषमा ५ अर्ब


 


काठमाडौ, जेष्ठ २८ – भूकम्प गएको ४६ दिनमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बल्ल ५ अर्ब रुपैयाँ नाघेको छ । बिहीबार २२ वटा संघसंस्था तथा निकायले २१ करोड ९ लाख रुपैयाँ जम्मा गरेपछि कोषमा ५ अर्ब ४८ करोड रुपैयाँ पुगेको हो । विभिन्न दातृ निकाय र संघ संस्थाले सहयोगको घोषणा गरेपनि कोषमा उल्लेखीय रकम जम्मा हुन सकिरहेको छैन ।

अहिलेसम्म ७ सय ४१ संघसंस्था, व्यक्ति तथा निकायले उक्त रकम जम्मा गरेका हुन् । १ करोड रुपैयाँ भन्दा बढी रकम जम्मा गर्ने व्यक्ति, संघसंस्था तथा व्यक्तिको संख्या ६२ पुगेको छ । उनीहरुले ४ अर्ब २२ करोड ८२ लाख रुपैयाँ जम्मा गरेका हुन् । अहिलेसम्म २ सय २३ वटा विदेशी दातृ निकाय तथा संघसंस्थाले कोषमा रकम जम्मा गरेका छन् । उनीहरुबाट २ अर्ब ६७ करोड २४ लाख रुपैयाँ जम्मा गरेको कोषले जनाएको छ । विदेशी दातृ निकाय तथा संघसंस्थाको कोषमा योगदान ५० प्रतिशत भन्दा बढी देखिन्छ ।

अहिलेसम्म सबैभन्दा बढी हङकङ सरकारको तर्फबाट कोषमा रकम जम्मा भएको छ ।  उसले ६६ करोड २० लाख रुपैयाँ जम्मा गरेको हो । दोस्रो नम्बरमा नेपाल सरकारका कर्मचारीहरुले रकम जम्मा गरेका छन् । कोषले जनाए अनुसार नेपाल सरकारका कर्मचारीहरुले ३५ करोड ८५ लाख रुपैयाँ जम्मा गरेका हुन् । तेस्रो नम्बरमा एसियाली बिकास बैंक (एडिबी) ले रकम बढी जम्मा गरेको छ । एडिबीले ३० करोड ६० लाख रुपैयाँ जम्मा गरेको हो ।

गृहमन्त्रालयलाई निकासा दिएर कोषमा भने २ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ रकम बाँकी छ । गृहले कोषमार्फत अहिलेसम्म ८ अर्ब ४० करोड रुपैयाँ निकासा लगिसकेको छ । सरकारले अर्थ मन्त्रालयबाट निकासा गराएर ५ अर्ब ५० करोड परिचालन गरेको हो ।

इकान्तिपुर

 

प्रकाशित मिति: २८ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्