एलओडी पुगेकी बालिका बलात्कार आरोपमा एकजना पक्राउ, सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी


 


काठमाडौं, असार २१ । काठमाडौंको ठमेलस्थित चर्चित एलओडी क्लबमा आएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्‍याएर बलात्कार गरेको आरोपमा पोखरा घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ परेका हुन् ।

ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार सुदनले १५ वर्षीया बालिकालाई ३१ जेठमा एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्‍याएर बलात्कार गरेको आरोप छ ।

कोइरालाले आफ्नो कार्यालयमा लगेर बालिकालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको शाहले बताए । यसअघि १५ वैशाखमा दुई जना महिला पनि बलात्कृत भएका थिए । क्लबको सरसफाइको काम गर्ने दुई महिलालाई बिहान एक होटलमा लगेर बलात्कार गरेको खुलेको थियो ।

खाजा खुवाउने भन्दै एक खाजा पसलमा मदिरा खुवाएर होटलमा पुर्‍याई बलात्कार गरिएको थियो । सो अभियोगमा प्रहरीले खोटाङको बाह्र पोखरी गाउँपालिका– २, स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका– २ का माइला भन्ने रामकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

बालिका बलात्कार प्रकरणमा एलओडी क्लबका दुई जना सञ्चालकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालक रविन श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

नेपालको कानुनले वयस्कका लागि खुलेका डिस्को, क्लबलगायतका मनोरञ्जनस्थलमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई प्रवेश गराउने वा काममा लगाउने दुवै कार्य दण्डनीय मानेको छ । हाल दुवै जना सम्पर्कविहीन रहेकोले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्