चीनबाट आयात भएको मदिरा नष्ट


 


हुम्ला । चीनबाट आयात भएको मदिरा विओपी र नेपाल प्रहरीले नष्ट गरेको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा ५ को हिल्सा नाका खुलेलगत्तै चिनियाँ मदिरा जिल्लामा ठूलो मात्रामा भित्रिएको सूचना पाएपछि विओपी र नेपाल प्रहरीले मदिरा बरामद गरी नष्ट गरेको हो ।

चीनका विभिन्न बजारबाट आएको ४७ काटुन चिनियाँ मदिरा हिल्सामा नै नष्ट गरिएको हुम्लाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

उपरीक्षक भट्टराईका अनुसार चीन र नेपालको हिल्सा नाकाबाट आउँदै गरेको चिनियाँ मदिरा विओपी र नेपाल प्रहरीले नियन्त्रणमा लिएर शनिबार नष्ट गरेको हो । उक्त मदिरा बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । चिनियाँ मदिरा झिनिगिन्टी नेपालमा खुला नभएको हुँदा यसले मान्छेको ज्यान समेत जाने हुनाले नेपालमा बन्द गरिएको छ ।

लुकिछिपी मदिरा भित्रिन थालेपछि अहिले नाका कडाइ गरिएको छ । चिनियाँ मदिरा आयातमा रोक लगाइएपनि ल्याउन नछाडेपछि नाका सुरक्षामा कडाइ गर्नु परेको सशस्त्र प्रहरी कार्यालय हुम्लाले जनाएको छ । नष्ट गरिएको मदिरा करिब २ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको रहेको छ ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्