प्रहरी अधिकृतहरुको सरुवाप्रति कांग्रेस सांसदहरुको आपत्ति


 


काठमाडौं, भदौ ७ । नेपाली कांग्रेसका ८ जना नेताहरूले नक्कली भुटानी शरणर्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरुवा गरिएको प्रति आपत्ति जनाएका छन् ।

उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै चर्चित भ्रष्टाचार काण्ड अनुसन्धान गरेका प्रहरीलाई सरूवा गरिनुले निष्पक्ष छानबिनमाथि गम्भीर प्रश्न उठेको भन्दै आपत्ति जनाएका हुन् ।

‘चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीलाई अस्वाभाविक ढंगबाट सरूवा गरिनुले निष्पक्ष छानबिनमाथि नागरिक तहमै गम्भीर प्रश्न उठेको छ, यो आशंका मात्र हो भनेर राज्य पन्छिन मिल्दैन’ बिज्ञप्तिमा भनिएको छ ।

कांग्रेस विधिको शासन स्थापनाका लागि लड्दै आएको भन्दै उनीहरूले सरकारमा हुँदा विधिको शासन चलाउने अभ्यासमा आफूलाई अब्बल सावित गर्नुपर्न र पार्टी चलाउँदा पनि विधि र पद्धतीको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

बिज्ञप्तिमा मधु आचार्य, रञ्जित कर्ण, गुरुराज घिमिरे, देवराज चालिसे, गोबिन्दराज पोख्रेल, भूपेन्द्रजङ्ग शाही, भरतबहादुर खड्का र सुवास लोहनीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: ७ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्