एमसिसीले गर्दा समाजवादी मोर्चा धरापमा, सन्देश सभाहरु अनिश्चित


 


काठमाडौं, भदौ १३ । अमेरिकी सहयोग परियोजना एमसिसीको कार्यान्वयनको विषयलाई लिएर समाजवादी मोर्चाभित्र विवाद सुरु भएको छ ।

एमसिसी कार्यान्वयनबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान बोलाएको मोर्चाको बैठकमा एउटा घटक नेकपाका नेताहरूले आपत्ति जनाए ।

छलफलमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेकपाका नेता अनील शर्मा सहभागी थिए। मोर्चाका अन्य दुई दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरू भने छलफलमा भएनन्।

नेकपाका नेता अनिल शर्माले छलफलका क्रममा आफूहरूले एमसिसी कार्यान्वयनमा सरकारको दृष्टिकोण मागेको बताए । प्रधानमन्त्रीले कार्यान्वयनमा गइसकेको बताएपछि असहमतिकै बीच उठेर आफूहरु हिँडेको उनले बताए ।

एमसिसी कार्यान्वयन रोकिँदैन भने सहकार्य पनि अघि बढ्न नसक्ने प्रष्ट दृष्टिकोण राखेर आफूहरू बाहिरिएको उनले बताए ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले व्याख्यात्मक घोषणालाई एमसिसीले सम्झौताको अंग मानिसकेको र आजबाट कार्यान्वयनमा गइसकेको बताएको उनको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्ड र नेकपाका नेताहरूबीच एमसिसीबारे कुरा नमिलेपछि त्यसको असर मोर्चामै देखिएको छ। बिहानको बालुवाटार छलफलपछि आज धनगढीमा हुने भनिएको मोर्चाको सन्देश सभा अन्तिम समयमा आएर रोकिएको छ। नेकपाका नेता शर्माले अन्य ठाउँको सभा पनि अनिश्चित भएको बताए।

मोर्चाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सभा राखेको छ। एमसिसी सम्झौता कार्यान्वयनमा लैजानु हुँदैन भनेर नेकपा आन्दोलनमै उत्रिएको छ। मोर्चाको घटक एकीकृत समाजवादीभित्र पनि एमसिसीबारे एकमत छैन।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्