आईपीओ निष्कासन गर्दै मिड सोलु हाइड्रोपावर


 


काठमाडौं, भदौ १९ । मिड सोलु हाइड्रोपावर लिमिटेडले २८ भदौदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने जनाएको छ । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशतले हुने १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

यस्तै जारी पूँजीको १० प्रतिशतले हुने ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो । जसमध्ये १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता सेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा १ असोजसम्म अवेदन दिन सकिनेछ भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद ११ असोजसम्म थप हुनेछ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्