अनैतिक क्रियाकलाप बढेपछि स्थानीय तहमा खटिने कर्मचारीका लागि छुट्टै आचारसंहिता


 


काठमाडौं, असोज १ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुका लागि छुट्टै आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।

संघबाट खटिएका कर्मचारीहरु विभिन्न अनैतिक र अश्लील हर्कतमा मुछिने क्रम बढेपछि मन्त्रालयले आचारसंहिता जारी गर्न लागेको हो ।

कर्मचारीहरु आफ्नो कर्तव्य भुलेर विभिन्न गलत अनैतिक क्रियाकलापमा संलग्न हुने गरेको देखिएपछि आचारसंहिता नै जारी गर्न गृहकार्य भइरहेको मन्त्रालयका सहसचिव सुमन दाहालले बताए ।

कार्यस्थलमा यौनजन्य क्रियाकलाप वा अश्लील गतिविधि गरेको घटना सार्वजनिक कर्मचारी संयन्त्रमाथि थप अविश्वास बढ्ने अवस्था आएकाले कर्मचारीलाई स्थायी सरकारको भूमिका र मर्यादा सम्झाउने गरी आचारसिंहता जारी हुने मन्त्रालयले जनाएको छ ।

एक साताअघि माईजोगमाई गाउँपालिका, इलामका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र महिला लेखा अधिकृतले २७ असारमा कार्यालयभित्र अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो । त्यस्तो गतिविधि भएको भिडियो बाहिररिएपछि प्रमुख प्रशासकीय अधिकृत राई मन्त्रालयको अतिरिक्तमा तानिएका छन् ।

१३ साउनमा झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले सरकारी क्वार्टरमा महिलासँग अश्लील गतिविधि गरेको भिडियो बाहिरिएको थियो । मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको भिडियो टिकटकमा सार्वजनिक भएपछि प्रमुख निरौलाले क्वार्टरमा रङरोगन गर्न लगाएका थिए ।

तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौंमा बोलाएर उनलाई पनि अतिरिक्तमा राखेको छ ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्