एमाले बागमती प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट, कुन जिल्लाबाट कति ?


 


काठमाडौं, असोज १ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटको काम सकिएको छ ।

यही असोज ८ र ९ गते हुने अधिवेशनका लागि १३ वटै जिल्लाबाट २१ सय प्रतिनिधि छनोट गरिएको एमाले प्रदेश कमिटीले जनाएको छ ।

एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले एकाधबाहेक सबै जिल्लाको प्रतिनिधि छनोटको काम सकिएको बताए ।

उनका अनुसार ललितपुर महानगर र भक्तपुरको एक स्थानीय तहबाट प्रतिनिधि छनोट हुन बाँकी नै छ । एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौँबाट १३२ जना प्रतिनिधि छनोट भएका छन् ।

त्यस्तै काठमाडौँपछि काभ्रेबाट १२५ र तेस्रोमा मकवानपुरबाट १०६ जना प्रतिनिधि छनोट भइसकेका छन् । त्यसैगरी धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् । यो संख्या जोड्दा एकहजार ११३ जना हुन आउँछ । जनसंगठबाट ९५ जना प्रतिनिधि थपिनेछन् । यो संख्या जोड्दा १२ सय ८ पुग्छ ।

त्यसैगरी यसबाहेक प्रदेश कमिटीबाट ५ प्रतिशत मनोनीत हुनेछन् । यो समेत जोड्दा एमाले बागमती प्रदेशमा प्रतिनिधिको संख्या १२ सय ५० हाराहारी पुग्ने एमाले प्रदेश कमिटीका उपसचिव महेश वर्तौलाले जानकारी दिए ।

काठमाडौँको भृकुटीमण्डपमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । प्रदेश कमिटीको अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा उत्रने तयारीमा छन् ।

बहालवाला प्रदेश अध्यक्ष केशवराज पाण्डे, केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्ण दाहाल तथा बागमतीका पूर्वसभामुख सानु श्रेष्ठ नेतृत्वको लिने आकांक्षा देखाएका छन् ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्