विश्वप्रकाशबारे धनराजको कटाक्ष– दाम्लोले बाँधेर ल्याउनु हुँदैन, चुँडालेर भाग्छन्

काठमाडौं, असोज २ । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले महामन्त्री विश्वप्रकाश शर्मालाई जबरजस्ती समूहमा ल्याउन आवश्यक नभएको बताएका छन् ।
शेखर कोइरालाको नेतृत्वमा आज बसेको इतर पक्षका नेताहरुको बैठकमा गुरुङले यस्तो कटाक्ष गरेका हुन् । ‘दाम्लोले बाँधेर ल्याउने काम गर्नुहुँदैन । ल्याएपनि उनीहरू दाम्लो चुँडालेर भागिहाल्छन्,’ उनले भने, ‘आउने साथीहरू आफैँ आइरहेका छन् संस्थापन पक्षका केही नेताहरू पनि आफ्नो सम्पर्कमा छन् ।’
कानुन मन्त्रीसमेत रहेका गुरुङले पार्टी सभापति शेरबहादुर देउवाले काम कारबाहीमा हस्तक्षेप गरिरहेको पनि बताए । उनले न्यायाधीश नियुक्तिमा सभापतिले फोन गरेर हस्तक्षेप गर्न खोजेको बताए ।
समूहको बैठकमा आउन शेखर कोइरालाले फोन गरेर महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीमा निर्वाचन लडेका नेता प्रदीप पौडेललाई समेत आमन्त्रण गरेका थिए ।
कोइरालाले फोन गर्दा दुवै नेताले सकारात्मक जवाफ दिएपनि प्रदीप चीन गएकाले बैठकमा आएनन् भने विश्वप्रका शर्माले आफू नआउने सन्देश पठाएका थिए ।
प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार