परिवारै गुमाएका पहिरो पीडितको बिचल्ली


 


धरान, जेठ ३१ Untitlednn

उनी टोलाउँछन् मात्रै। बेला बेला रुन्छन्। यताउति हेर्छन्। बोल्दैनन्। दुखाईको असह्य पीडालाई रुवाईमार्फत पोख्छन्। उनी हुन् जेठ २९ गते रातिको बाढी पहिरोबाट उद्दार गरिएका पाथिभरा–२ संखुवासभाका ८ वर्षीय सुवास तामाङ।

पहिरोमा उनले बुबाआमा र भाइ गुमाए। आमा सुखमायाको शव फेला परिसकेकेा छ। तर, बुबा  शेरबहादुर र भाइ सुनिलको अवस्था अज्ञात छ। तर, त्यो विषयमा उन्लाई केही थाहा छैन्। आफू कहाँ छु भन्नेसम्म उनले थाहा पाउन सकेका छैनन्।

उनको मानसिक अवस्था गम्भीर छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत उनी दाहिने खुट्टा चोटग्रस्त छ भने टाउकोसमेतमा चोट लागेका छ।

दाहिने खुट्टामा ढुंगाको चोट हड्डीसम्म भेटेपछि सल्यक्रिया गरिएको छ। बेला बेला आँ ऊ गरे पनि आफ्नो मातृभाषा भन्दा अर्को भाषा बोल्न आउँदैन। के भनेको हो, इसारामा बुझ्नु पर्छ। ‘नेपाली बोल्नै आउँदैन्। के भन्न खोजेको हो मुस्किलले बुझ्नु पर्छ।’ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएर आएका प्रहरी जवान राजू लिम्बूले भने।

नेपाल आर्मीको उद्दार टोलीले उनलाई उद्दार गरी जिल्ला अस्पताल ल्याएर छाडिदियो। त्यसपछि प्रहरीको सहयोगमा उनी उपचारमा छन्। आफ्ना आफन्तहरु अहिलेसम्म सम्पर्कमा छैनन्। ‘अहिलेसम्म कसैले कन्ट्याक गरेका छैनन्।’ उनले भने।

आमाको शव निकालिएको छ भन्ने सुन्नमा आएको छ। तर, बुबा र भाइअहिलेसम्म बेपत्ता छन्। पहिरोले लगभग परिवार ध्वस्त बनाएपछि अहिले उनी अनाथ झै छन्। ‘भाषा बुझ्दैनन् जस्ले अर्को समस्या निम्तिएको छ।’ ती प्रहरी जवान भन्छन्।

ती बालकलाई उपचारपछि कहाँ लाने त्यो समस्या ती प्रहरी जवानले देख्न थालेका छन्। ‘अव झन समस्या देख्छु।’ ती प्रहरी जवान भन्छन् ‘बुबाआमा नै पहिरोले गुमेको छ। घरसमेत पहिरोले लग्यो। अव के होला?’

setopati

प्रकाशित मिति: ३१ जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्