Deshko News
११ आश्विन २०८०, बिहिबार

कालो धन नियन्त्रण हुने, यसरी सम्भव छ



काठमाण्डौ, मंसिर २४
लगानीकर्तालाई विश्वस्त गराउन केही समय लाग्ने भए पनि धितोपत्र बजारलाई सुधार गर्ने लक्ष्यका साथ सरकारले अत्याधुनिक प्रणाली लागू गर्ने भएको छ ।

अर्थ मन्त्रालयको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेबाट धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन आस्वा प्रणाली लागू गर्ने तयारी गरेको छ ।

बोर्डले कार्यान्वयनमा ल्याउन लागेको ‘आस्वा’ एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउन्ट प्रणालीबाट लगानीकर्ता आफ्नो खाता रहेको बैंकबाट नै सेयरमा लगानी गर्न सक्नेछन् ।
लामो समय लगानीकर्ता लाइनमा बस्नुपर्ने, चेक र नगदबाट कारोबार गर्दा हस्ताक्षर नमिल्ने, खातामा रकम नहुने तथा अनधिकृत व्यक्तिले समेत सेयरमा लगानी गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्ने उपायस्वरुप धितोपत्र बोर्डले नयाँ प्रणालीका रुपमा आस्वा लागू गर्न लागेको छ ।

नयाँ प्रणाली लागू भएपछि सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले अब आफ्नै खाता भएको बैंकबाटै सोझै लगानी गर्न सक्ने छन् ।

यसबाट लामो लाइन बस्नुपर्ने, धितोपत्रको प्रमाणपत्र पाउन ७० दिनभन्दा बढी कुर्नुपर्ने र आफ्नै रकम प्राप्त गर्नसमेत लामो समय लाग्ने अवस्थाको समेत अन्त्य हुनेछ ।

बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पहिलो चरणमा ‘क’ वर्गका बैंकमार्फत सो प्रणाली लागू र त्यसपछि ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्था र मर्चेन्ट बैंकमा सो प्रणाली लागू गरिने बताए ।

धितोपत्र बजारलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन बोर्डले नयाँ नयाँ प्रविधि सञ्चालनमा ल्याइरहेको उल्लेख गर्दै अध्यक्ष कार्की भारत र बङ्गलादेशको अनुभवलाई समेत हेरेर नेपालमा आस्वा प्रणाली लागू गर्न लागिएको बताए ।

सार्वजनिक निष्काशन प्रक्रियालाई थप सरल, व्यवस्थित पारदर्शी तथा छिटो छरितो बनाई सार्वजनिक लागतलाई समेत न्यून गर्ने उद्देश्यले सो प्रणाली लागू गर्न लागिएको हो ।

धितोपत्र खरिद सार्वजनिक निष्काशन निर्देशिका, २०७३ अनुसार धितोपत्रको सूचीकरण छिटो गर्न सकिने हुँदा लगानीकर्ताले बजारबाट छिटो निकास पाई लाभ प्राप्त गर्न सक्ने, खातावालाको परिचयमा सहयोग पुग्ने, वित्तीय क्षेत्रमा पारदर्शिता अभिवृद्धि हुने बोर्डको विश्वास छ ।

नयाँ प्रणाली लागू भएपछि २० दिनभित्रै लगानीकर्ताले प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् भने शतप्रतिशत ब्याज पनि पाउनेछन् । हाल विभिन्न शुल्कका नाममा काटिँदै आएको रकमसमेत बचत हुनेछ ।

नयाँ प्रणाली लागू भएपछि धितोपत्र बजारमा एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि स्थानीय मुद्रामा नै सेयर कारोबार गर्ने मार्ग प्रशस्त हुनेछ ।

नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्स्चेन्ज, बैंकर्स सङ्घलगायतका सुझावका आधारमा नै बोर्ड अगाडि बढेको छ ।

बोर्डका कार्यकारी निर्देशक परिष्ठ पौड्याल पहिलो चरणमा ऐच्छिक रुपमा सो प्रणाली लागू हुने र विस्तारै अनिवार्य गरिने बताए ।

सो प्रणाली लागू हुन बङ्गलादेशमा पनि कम्तीमा पाँच वर्ष लागेको थियो । सेयर बजारमा कालोधन नियन्त्रण गर्न पनि आस्वा प्रणाली उपयुक्त विधि भएको भन्ने ठहरका साथ बोर्डले स्थलगत अध्ययनसमेत गरेको थियो ।

प्रणालीमा अभ्यस्त गराउने चुनौती रहेको छ भने प्रणालीका सहभागी संस्थाबीच कार्य प्रक्रियामा तादाम्यता, सेवाको शुल्क व्यवस्था र सञ्चालन जोखिम रहे पनि प्रणाली सञ्चालमा आएपछि क्रमशः सुधार हुने पौड्यालको भनाइ छ ।

 

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News