गाँजा भण्डारण गर्ने गाउँपालिका अध्यक्षलाई साढे तीन वर्षको जेल सजाय


 


काठमाडौं, असोज २२ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्षलाई उच्च अदालत बाग्लुङले साढे तीन वर्षको जेल सजाय सुनाएको छ ।

निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती गाँजा भण्डारण गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

उच्च अदालतका न्यायाधीश मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले उनलाई साढे ३ वर्ष जेल सजाय तोकेको उच्च अदालत बागलुङका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिए ।

९ महिना अघि जिल्ला अदालत बागलुङले घर्तीलाई ५० हजार जरिवाना र ३ वर्ष ६ महिना जेल सजाय तोकेको थियो । अदालतको फैसला पछि पनि लामो समय उनी फरार थिए ।

०७७ साल असार १२ गते निसीखोला गाउँपालिका ६ को वडा अध्यक्ष हुँदा घर्ती ८० केजी गाँजासहित घरबाटै पक्राउ परेका थिए ।

गाँजा भण्डारण गरेको आरोपमा लागू औषध कसुर सम्बन्धी ऐन २०३३ को दफा ४ (क) अनुसार २०७७ भदौ ४ गते उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो ।

पक्राउ परे लगत्तै झण्डै ३ महिना पुर्पक्षका लागि थुनामा बसेपछि धरौटीमा रिहा भएका थिए । घर्ती गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्