रिगललाई पुनः जेल चलान गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, असोज २४ । राष्ट्रिपतिबाट कैद मिनाहा पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’लाई पुनः जेल चलान गर्नुपर्ने माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।
चेतन मानन्धरको हत्या गरेका रिगलको कैद सजाय कट्टा गरेको विरोधमा मानन्धर पत्नी भारती शेर्पा पक्षधर तथा युवा अभियन्ताहरूले दबाब पूर्ण प्रदर्शन गरेका हुन् ।
राष्ट्रपतिको राजीनामा माग्दै नारा लगाएर उनीहरू माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्यालीको आयोजना गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा रियलको बाँकी कैद सजाय कट्टा गरेका थिए ।
सर्वोच्च अदालतले राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । साथै उक्त रिट निवेदनलाई पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोक्नसमेत आदेश भएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिब कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो ।
प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार