सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित


 


काठमाडौं, असोज २६ । सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समितिको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् ।

समितिको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको बैठकले बैंकका सञ्चालक समेत रहेका पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन्। अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन्।

उनले बैंकको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै नयाँ प्रविधिमा आधारित बैंकिङलाई प्राथमिकतामा राख्‍ने र सेवा बिस्तार गर्ने बताए।

उनी कसमस सिमेन्ट र इस्टन कसमसका निर्देशक हुन्। लोमस फर्मास्यूटिकल्समा सञ्चालक रहेका पाण्डे निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा समेत आवद्ध छन्। बैंक तथा वित्तीय क्षेत्रका साथै निजी क्षेत्रको सम्पूर्ण डाटा यहाँ राखिन्छ।

उनी मर्जर तथा एक्विजिसन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो।

औषधिको प्याकिङ सामग्री उत्पादन गर्दै आएको फर्चुना ग्रुपमा पनि पाण्डे आबद्ध छन्। पाण्डे नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन्।

इन्जिनियरिङमा स्नातक गरेका पाण्डे दुई दशकभन्दा बढी समयदेखि सिमेन्ट, औषधिजन्य उत्पादन लगायतका उद्योग र व्यापारमा सक्रिय छन्।

यस्तै साधारण सभाले सजन शर्मा र सीता कार्की केसीलाई सञ्चालक चयन गरेको छ। सर्वसाधारणका तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की तथा स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली छन्।

साधारणसभाले ५.७९ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि पारित गरेको छ । उपयुक्त संस्थालाई गाभ्ने÷गाभिने प्रकृया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय गरेको छ।

प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्