इजरायलमा फसेका नागरिकलाई उद्धार गर्न भारतको ‘अपरेशन अजय’


 


नयाँ दिल्ली । हमासले इजरायलमाथि हमला गरेसँगै त्यहाँ फसेका आफ्ना नागरिकलाई उद्धार गर्न भारतले ‘अपरेशन अजय’ नामक अभियान सञ्चालन गरेको छ । भारतले गत बुधबार यस उद्धार अभियानको घोषणा गरेको हो ।

यस अभियानअन्तर्गत दाेस्राे उडानबाट मंगलबार २ सय ८६ जना भारतीय नागरिक स्वदेश फर्केका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यही उडानमार्फत १८ जना नेपाली नागरिकलाई पनि इजरायलबाट भारत ल्याएर नेपाल पठाएकाे छ ।

इजरायलमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने अभियान अझै जारी रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

चार्टर्ड उडानमार्फत् भारतले यस अभियान सञ्चालन गरेको हो । यद्यपि आवश्यक परेको खण्डमा नौसैनिक विमानको पनि प्रयोग गर्न सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल इजरायलमा १८ हजारभन्दा धेरै भारतीय नागरिकहरु रहेको बताइएको छ । यीमध्ये अधिकांश सूचना प्रविधिको क्षेत्रमा कार्यरत छन् ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्