‘मोस्ट वान्टेड’ सूचिमा रहेका अभियुक्त सुरक्षा अधिकारीसँगै मञ्चमा


 


काठमाडौं, मंसिर २८
प्रहरीको खोजी सूचीमा रहेका अभियुक्त नसिमअहमद खाँले जिल्लाका सुरक्षा अधिकारीसँग मञ्चमा एक घण्टा बिताए । प्रजिअ र एसपीले त्यसको चालै पाएनन् । केही दिनअघि हाजिर भएका दुवैले भेउ नपाएका हुन् । कार्यक्रम चलिरहेका बेला कुनै सहभागीले खाँलाई पक्राउ पर्न सक्ने भन्दै एसएमएस पठाए । त्यसपछि उनी माइक खोसेर आफूलाई बचाउन भाषण गरेर त्यहाँबाट कुलेलम ठोके ।

जिल्लाको सिमानास्थित पिपरा गाविसलाई खुलादिसामुक्त घोषणा गर्ने कार्यक्रममा यस्तो भएको हो । कार्यक्रममा प्रजिअ विष्णुप्रसाद ढकाल, एसपी भोजजंग शाह, सशस्त्रका एसपी सुदेशकुमार गुरुङ, सभासद अतहर कमाल र पूर्वमन्त्री दानबहादुर चौधरी लगायत सहभागी थिए ।

अदालतले जेल सजाय र जरिवाना तोकेका खाँ पनि कार्यक्रममा आए । एमालेका तर्फबाट अतिथि आसन ग्रहण गरे । माला लगाएर रमाए । उनले एमालेका तर्फबाट आसन ग्रहण गर्दा सभासद कमाल र पूर्वमन्त्री चौधरी अचम्ममा परेका थिए । कार्यक्रममा सदरमुकामबाट गएका दलका नेता र गाविसका प्रतिनिधिसमेत थिए ।

कार्यक्रमको जलपान समिति संयोजक रहेका खाँले सबैका अघि माइक खोस्दा तनाव भयो । तीन दिनअघि आएका प्रजिअ र एसपी अलमलमा परे । खाँ भने दौडदै सीमापारि भारत पुगे । गाडी चढेर एकैछिनमा फरार भए । खाँमाथि थुप्रै अभियोग छन् । २०६५ मा संदीपकुमार गुप्ताको जाहेरीको डाँका मुद्दामा जिल्ला अदालतले ६ महिना कैद र १ लाख ९१ हजार जरिवाना फैसला गरेको छ । २०६२ मा तत्कालीन माओवादी नेता प्रेम परियारको हत्या र त्यसै वर्ष जिविसका अधिकृत निरञ्जन पौडेलको अपहरण अभियोग पनि उनीमाथि छ ।

त्यस्तै ०६५ मा पिपरा गाविस सचिव राममिलनप्रसाद गुप्ताको हत्या र ०६६ मा अकालमती कोहारको हत्या गरेको अभियोग छ । ०६७ मा माओवादी अवध राज्य समिति इन्चार्ज राजेन्द्र तिवारीको हत्या र पुरुषोत्तमपुरमा मजदुर ज्ञानबहादुर सुनारको हत्या अभियोग पनि उनीमाथि छ ।

उनीविरुद्ध जिल्लादेखि सर्वोच्च अदालतसम्म मुद्दा चलिरहेका छन् । डाँका, हत्या र चोरीका घटनामा संलग्नताको थुप्रै अभियोग उनीमाथि छन् । सुरुमा नेपाली कांग्रेस, त्यसपछि भूमिगत सशस्त्र संगठन हुँदै अहिले खाँ एमालेमा प्रवेश गरेका छन् । उनले स्थानीय प्रशासनसमक्ष दुई पटक हतियार बुझाएका थिए ।

सुरुमा जिल्लामा माओवादीविरुद्ध परिचालित प्रतिकार समितिका तर्फबाट उनीसहितको टोलीले हतियार बुझाए । त्यसपछि ०७१ असोज १० गते संयुक्त जनतान्त्रिक मुक्ति मोर्चा ९कौटिल्य समूह० का तर्फबाट सञ्जय गुप्ताको नेतृत्वमा उनले स्थानीय प्रशासनलाई हतियार बुझाएका थिए । उनी मोर्चाको तर्फबाट सरकारसँग वार्ता गर्न गठित समितिको सदस्य थिए । हतियार बुझाउन जिल्ला प्रशासन आउँदा पक्राउ पर्ने डरले आउन मानेका थिएनन् । पछि पक्राउ नगर्ने बताएपछि अबेर साँझ मात्र आएका थिए ।

आफू आएको ३ दिन मात्र भएकाले को के हो धेरै कुरा थाह नभएको प्रजिअ विष्णुप्रसाद ढकालले बताए । ‘उनी मञ्चमा अतिथिसँगै बसे,’ ढकालले भने, ‘अब कहिल्लै सँगै बस्ने अवस्था दोहरिँदैन ।’ उनका बारेमा प्रहरीसँग विवरण मागेको पनि प्रजिअले जनाए । एसपी शाहले पनि त्यस्तै प्रतिक्रिया दिए । दोषी रहेको पाइएमा ढिलोचाँडो पक्राउ पर्ने बताए ।

सीमा क्षेत्रको पिपरा गाविसमा घर भए पनि खाँ पक्राउ पर्ने डरले भारतीय भूमिमा बस्दै आएका छन् । उनले सीमा क्षेत्रमा डर धम्की देखाउँदै चन्दा असुली लगायत आपराधिक काम गरिरहेको स्थानीयले आरोप लगाए । आफू कुनै पनि मुद्दामा दोषी नभएको भन्दै राजनीतिक पूर्वाग्रह भएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगले छानबिन गर्नुपर्ने अभियुक्त खाँले बताए । आजको कान्तिपुर दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्