बालिकाको बलात्कारपछि हत्या आरोपमा शिक्षक जेल चलान
![](https://www.deshkonews.com/wp-content/uploads/2023/11/rape.jpg)
गुल्मी, मंसिर १२ । गुल्मीमा एक बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एक शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् ।
बागलुङ घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका–४ बस्दै आएकी बालिकाको हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका–७ घर भई चन्द्रकोट–४ बस्दै आएका २३ वर्षीय रहिस खाँ जेल चलान भएका हुन् । चन्द्रकोटकै एक विद्यालयका शिक्षक हुन् ।
गत कात्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिका–४ को हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव नग्न अवस्थामा फेला परेको थियो । गत कात्तिक १६ गते बागलुङ जिल्ला बरेङ गाउँपालिका घर भई चन्द्रकोट–४ बस्ने मनिषा खेतालालाई सुर्ती किन्न बजार निस्किएकी थिइन् ।
किशोरी घरमा नआएपछि खोजी गर्ने क्रममा कात्तिक १७ गते बिहान उनको शव भेटिएको थियो । मनिषाको बलात्कारपछि हत्या गरेको आरोपमा खाँलाई प्रहरीले कात्तिक १७ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
सोमबार जिल्ला अदालत गुल्मीले खाँलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।
किशोरीको आमाका अनुसार मनिषा खेतमा धान झाट्दै दाईं लगाउने क्रममा खेतालालाई सुर्ती किन्न पसलमा गएकी थिइन् । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा पढदै आएकी थिइन् ।
प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार