किन बढ्दै छन् अवैध रूपमा अमेरिका प्रवेश गर्ने चिनियाँ ?


 


एलिन सुलिवाना
काठमाडाैं । मेक्सिकोको सिमानातर्फबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरूमा नसोचेको देश अर्थात् चीनका नागरिकको संख्यामा भारी वृद्धि देखिएको छ । लामो दूरी र यात्राको कठिनाइको बाबजुद गत वर्ष २४ हजारभन्दा बढी चिनियाँ नागरिक मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी अध्यागमनको हिरासतमा परे ।

अमेरिकी सरकारी तथ्यांकअनुसार यो संख्या अघिल्लो १० वर्षको कुल संख्याभन्दा बढी हो । मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने चिनियाहरू सामान्यतया पहिले जहाजमार्फत इक्वेडर ओर्लन्छन्, जहाँ चिनियाँहरूलाई भिसा आवश्यक पर्दैन । त्यसपछि, उनीहरू द्वन्द्वग्रस्त मध्य तथा दक्षिण अमेरिकी देश र विपन्न अफ्रिकी र एसियाली देशका हजारौँ आप्रवासीजस्तै कोलम्बिया र पानामाबीचको खतरनाक जंगल हुँदै अमेरिका पुर्‍याउने तस्करको साथ लाग्छन् ।

लामो यात्रापछि मेक्सिको–सीमा पार गरेर अमेरिका प्रवेश गरेपछि उनीहरू अध्यागमन अधिकारीकहाँ आत्मसमर्पण गर्छन् र शरणका लागि आवेदन दिन्छन् । अमेरिकाको अध्यागमन अदालतमा शरणको माग पेस गर्ने अन्य देशका मानिसहरूको तुलनामा चिनियाँ नागरिकहरू बढी सफल छन् । यही सफलताले नै अमेरिका पुगेका चिनियाँका परिचितहरूलाई उस्तै यात्राका लागि प्रेरित गर्छ । जसले अमेरिकामा बस्ने अनुमति पाउँदैनन तिनलाई चीनले सामान्यतया फिर्ता लिँदैन । चीनसहित विश्वका करिब एक दर्जन देश अमेरिकी अध्यागमनले फिर्ता गर्न खोजेका तिनका नागरिकलाई लिन मान्दैनन् । अमेरिकाले ‘डिपोर्ट’का लागि अन्तिम आदेश दिएका १३ लाख आप्रवासीमध्ये करिब एक लाख चिनियाँ छन् ।

कोरोना महामारीको विस्तार नियन्त्रणका लागि चीनले अपनाएको कठोर नीति र सी जिनपिङको अधिनायकवादी रुझानपछि नागरिकको बाहिरिने संख्या बढेको छ । त्यसमाथि पछिल्लो चिनियाँ अर्थतन्त्रमा आएको सुस्तताका संकेतले आर्थिक अवसर कमजोर बन्न थालेका छन् । यसबाट निराश भएका चिनियाँ नागरिकहरू अमेरिकाका अतिरिक्त जापान, युरोप लाग्न थालेका छन् । उसो त समग्रमै अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्नेको संख्या बढेको छ । यस भेलमा चिनियाँ आप्रवासीहरू एक सानो अंश मात्र हुन् ।

गत वर्ष ‘ड्यारियन ग्याप’बाट दुई लाख ४८ हजारले यात्रा गरेकोमा यो वर्ष अहिलेसम्म चार लाख ८१ हजार मानिसले जंगल पार गरिसकेका पानामाका अधिकारीले जानकारी दिए । यो भयानक जंगल हुँदै अमेरिका जाने प्रयास गर्ने अधिकांश आप्रवासीहरू भेनेजुएला, इक्वेडर र हाइटका नागरिक हुन्छन् । उनीहरू तिनको देशको कठोर आर्थिक अवस्था र द्वन्द्वबाट उम्केर सुन्दर भविष्यको आशामा अमेरिकातर्फ लाग्छन् । मेक्सिकोतर्फबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको विशाल संख्या अमेरिकी राजनीतिको प्रमुख मुद्दा नै बनिसकेको छ । राष्ट्रपति बाइडेनले आप्रवासीको प्रवाहलाई रोक्नका लागि भयंकर दबाबको सामना गर्नुपरेको छ ।

अवैध रूपमा अमेरिका जाने आप्रवासीको भिडमा तुलनात्मक सम्पन्न र सुरक्षित चिनियाँहरूको ठूलो संख्याले धेरैलाई आश्चर्यचकित बनाएको छ । पानामाको जंगल हुँदै अमेरिकातर्फ लाग्ने समुदायमा चिनियाँहरू अहिले चौथो ठूलो समूह बनेको पछिल्लो तथ्यांकले बताउँछ । अमेरिकी सरकारको तथ्यांकअनुसार यस आर्थिक वर्षमा २४,००० भन्दा बढी चिनियाँ अमेरिका–मेक्सिको सीमामा पक्राउ परेका छन् । जब कि पछिल्लो १० वर्षमा कुल १५,००० भन्दा कम चिनियाँ आप्रवासी मात्र अवैध रूपमा अमेरिकाको दक्षिणी सीमा पार गर्ने क्रममा पक्राउ परेका थिए ।

अवैध रूपमा अमेरिका प्रवेश गर्ने अधिकांश चिनियाँ मध्यमवर्गीय वयस्क हुने गरेको र उनीहरू इमिग्रेसन शाखाबाट रिहा भएपछि न्युयोर्कतर्फ लाग्ने गरेको देखिन्छ । न्युयोर्कमा पनि चिनियाँ नागरिकको गन्तव्य हुने गर्छः चिनियाँ आप्रवासीको पुस्तादेखिको अमेरिकी आश्रयस्थल, न्युयोर्कको क्विन्समा पर्ने फ्लसिङ । यसलाई चिनियाँ म्यानहट्टन पनि भन्ने गरिन्छ । यहाँ मन्डारिन वा क्यान्टोनिज बोल्नेको ठूलो संख्याले नवआगन्तुकलाई अंग्रेजी नबोली कामको अवसर र आफ्नोपनको भाव प्रदान गर्छ ।

दक्षिण अमेरिकी जंगलदेखि फ्लसिङ (क्विन)सम्मको चिनियाँ आप्रवासीको रुट विगतको भन्दा बिलकुल नयाँ हो । यसअघि सन् १९९० को दशकमा अवैध रूपमा अमेरिका आउने चिनियाँ आप्रवासीको संख्या उच्च देखिएको थियो । ९० को दशकमा अमेरिका आउने चिनियाँ आप्रवासीहरूले समुद्रीमार्ग प्रयोग गरेको देखिन्छ । तर, पनि त्यो समय पनि आप्रवासीको आगमन अहिलेजस्तो उच्च थिएन । अन्यथा प्रायसः अमेरिकाको शरणका लागि आउने अधिकांश चिनियाँहरू भिसा लिएर अमेरिका आउने र अमेरिकामै आएर शरणार्थीको निवेदन दिने गरेको देखिन्छ ।

आप्रवासीहरूले अमेरिकामा शरण खोज्न आवेदन दिएको ६ महिनापछि मात्र कानुनी रूपमा काम गर्ने अनुमति प्राप्त गर्न सक्छन् । पछिल्लो समय प्रवेश गरेका आप्रवासीहरूले तिनको मुद्दाको उतारचढावका क्रममा वर्षौँ पर्खनुपर्ने देखिएको छ । माथि उल्लेख गरिएझैँ सामान्यतया, चिनियाँ शरणार्थीहरूको मुद्दाले अरू देशका आप्रवासीले भन्दा बढी अध्यागमन अदालतमा सफलता पाउँछन् । सिराकज विश्वविद्यालयअन्तर्गतको ‘ट्रान्जेक्सनल रेकर्ड्स एक्सेस क्लियरिङ हाउस’ले विश्लेषण गरेको तथ्यांकअनुसार सन् २००१ देखि २०२१ सम्म चिनियाँ आवेदकहरूमध्ये ६७ प्रतिशतले शरण अनुमति पाएका छन् ।

चिनियाँ आप्रवासीको हकमा ‘डिपोर्ट’ गर्न आदेश पाएकाहरूलाई पनि देश फर्काउन सकिएको छैन । चीन सरकारले फिर्ता नलिने आवस्थामा अमेरिकाको बसाइ लम्बिने र यसले अमेरिका आउन चाहनेलाई थप प्रोत्साहित गरेको विश्लेषकको ठम्याइ छ । तथापि, कामकाजी उमेरका चिनियाँ नागरिकको अमेरिका तथा अन्यत्र पलायनले चीनलाई लामो समय चुनौती प्र्रदान गर्नेछ । चीनको जनसंख्या ६० वर्षमा पहिलोपटक घटेको छ । मर्नेभन्दा जन्मनेको संख्या कम देखिन्छ । उता अहिले नै देशको अर्थतन्त्र ४० वर्षयताकै सुस्त दरमा वृद्धि हुन थालेको छ । न्यून जनसंख्या वृद्धि भएको समयमा नागरिक पलायनले श्रमशक्तिमा असर पुर्‍याउँछ ।

‘डिपोर्ट’ गरिएका नागरिकहरूलाई फिर्ता लिन नमान्ने अन्य देशलाई अमेरिकी सरकारले सहायता रकम रोकेर दबाब दिने गरेको छ । त्यस्तै, सन् २०१७ मा अमेरिकाले कम्बोडिया, इरिट्रिया, गिनी र सियरा लियोनलाई केही निश्चित भिसामा पहुँच प्रतिबन्धित गरेर दबाब दिएको थियो । तर, न्यून अमेरिकी सहायता पाउने चीनका लागि यी कदमले दबाब पर्दैन । केही वर्षदेखि अमेरिका–चीन उनीहरू बग्रिएको अन्य गम्भीर मुद्दा सल्टाउन केन्द्रित भएकाले आप्रवासीको मुद्दा प्राथमिकतामा पर्न सकेको छैन ।

गत हप्ता सान फ्रान्सिस्कोमा बाइडेन र सीबीच भएको शिखर सम्मेलनमा पनि अध्यागमनको मुद्दा नै उठेन । बरु, उनीहरूले फेन्टानिल, चीनमा अमेरिकी व्यापार लगानी र निर्यात नियन्त्रणलगायतका विषयमा छलफल भए । विगतमा, अमेरिकी कूटनीतिज्ञहरूले चिनियाँ सरकारलाई अमेरिकाले डिपोर्ट गरेका नागरिकलाई स्वदेश फिर्ता गर्न मनाउने प्रयास नगरेका होइनन् । ‘तर, उनीहरू ती मानिस चिनियाँ हुन् भनेर स्वीकार गर्नै चाहँदैनन्,’ यस मुद्दामा काम गरेका अमेरिकी विदेश मन्त्रालयका पूर्वसहायकसचिच मिसेल थोरेन बन्डले भनिन् । ‘आफ्ना नागरिकको निगरानी गर्ने चीनजस्तो देशसँग आफ्ना प्रत्येक नागरिकको फोटो छैन भन्ने विश्वास गर्न गाह्रो हुन्छ,’ बन्डले थपिन् । द न्युयोर्क टाइम्सबाट

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्