मोटरसाइकल दुर्घटनामा घाइते चालक पनि रहेनन्, श्रीमान, श्रीमती र छोरीको मृत्यु


 


काठमाडौं, मंसिर १४ । मकवानपुरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको पनि मृत्यु भएको छ ।

बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालक मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने ३५ वर्षीय भीमबहादुर स्याङतानको पनि मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज पठाइएको थियो । त्यहाँ लग्नेक्रममा उनको पनि बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने छोरीको घटनास्थलमै मृत्यु भएको हो।

सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नं. को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको थियो।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्