राष्ट्रिय सभाको निर्वाचन कार्यक्रम स्वीकृत, यस्तो छ कार्यतालिका


 


काठमाडौं, मंसिर १७ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको कार्यक्रम स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भइसकेको आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आगामी पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ ।

प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरू सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुनेछ र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुनेछ ।

यस्तै पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।

पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २६ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउसो २ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम राखिएको छ । मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्