भारतमा माछा मार्दामार्दै पाकिस्तान पुगे एक नेपाली



काठमाडौं, पुस ३
भारत–पाकिस्तान सीमावर्ती पञ्जाव प्रान्तको समुद्रमा उभिएर भारतीय मछुवारको अह्राइखटाइमा माछा मार्ने काम गरिरहेका गुल्मी बडागाउँ–३ का एक युवक पाकिस्तानको कराँचीस्थित ल्यान्डी जेलमा थुनामा रहेको पाइएको छ ।
माछा मार्दै जाँदा सामुद्रिक सीमा थाहा नपाई अर्को देशको क्षेत्रमा प्रवेश गर्ने एकअर्का देशका नागरिकलाई कहिले भारतीय र कहिले पाकिस्तानी सुरक्षा प्रहरीले पक्राउ गरेर थुनामा राख्ने गरेका छन्। तर, मछुवारको भरियामात्रै बनेर काममा गएका ३३ वर्षे यमबहादुर सार्की भने ‘आफू नेपाली भएको’ पहिचान जुटाउनै नसकेर महिनौंदेखि जेलमा थन्किएका छन्।
दैनिक बढीमा ५ सय भारू कमाउने लोभमा मछुवारको साथ लागेर जहाज ९सी–मरिन० मा माछाका भरिया काम गरिरहेका सार्कीसहितको ८० जनाको टोलीलाई पाकिस्तानी सीमाको सामुद्रिक सुरक्षा प्रहरीले गत फागुन दोस्रो साता द्विदेशीय सीमावर्ती ‘डिउ’ भन्ने स्थानबाट पक्राउ गरेको थियो।
‘छोरो भारतको पञ्जाबतिर बनिबुतो गर्न गइरह्नथ्यो, होटलमा काम गर्नु भन्थ्यो,’ यामबहादुरका बाबु अमरबहादुरदे गुल्मीको बडागाउँबाट फोनमा भने,‘ऊ पाकिस्तानको कराँचीमा जेलमा परेको रहेछ भन्ने त उसैले जेलभित्रबाट पठाएको पत्र पढेर थाहा भयो।’
यमबहादुर जेलमा परेको भन्नासाथै गुल्मी जिल्लाका राजनीतिक नेताका पहुँचसम्म पुगेर सिंहदरबार र परराष्ट्र मन्त्रालय धाउने काम सुरु भएको थियो । एउटै गाउँका चिनारु श्याम राकसकोटी मगरले दर्जनौं पटक सिंहदरबार धाउने काममा सघाए पनि ‘यमबहादुर कराँची जेलमा थुनिएको पुष्टि फेला नपरेको’ भन्दै जवाफ पाएका थिए । ‘पछि यमबहादुरले जेलको ठेगानासहित पठाएको पत्रको प्रति राखेर परराष्ट्रमा निवेदन दिएपछि मात्रै उनलाई राखिएको कराँचीको ल्यान्डी जेलमा खोजखबर भएको थियो,’ श्यामले भने, ‘त्यसपछि इस्लामाबादस्थित नेपाली दूतावासका कूटनीतिक अधिकारी तीर्थराज अर्यालले ल्यान्डी जेलमै गएर यमबहादुरलाई भेटेको जानकारी पाएका हौं ।’ अवैध रूपमा सीमा वारपारको घटना र अभियोग आफैंमा गम्भीर भए पनि अहिले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकासहितका मुलुकका जेलमा एकअर्काको सामुद्रिक सीमा उल्लंघन गरेको अभियोगमा हजारौं नागरिक थुनामा छन् । सन् २०१२ सेप्टेम्बरमा गुल्मी बडागाउँकै २५ वर्षे मीनबहादुर सर्तुङगे मगर माछाका भरिया बनेकै हैसियतमा कराँचीको मलिर जेलमा २९ महिना थुनामा बसेका थिए ।
अन्तर्राष्ट्रिय कानुनमा समेत सीमाक्षेत्र उल्लंघनलाई गम्भीर अपराध मानिने गरेको र यस्तो अभियोगमा आजीवन कारावास सजाय हुने स्थिति रहेकामा ‘नियतवश नभएको गल्ती र माछा मार्नेभन्दा पनि भरिया काम गर्ने यामबहादुरको बाध्यकारी हैसियत’ बारे खुलाएर इस्लामबादस्थित नेपाली दूतावासले पाकिस्तान सरकारसँग उनको रिहाइका लागि आग्रह गरिसकेको छ ।आजको कान्तिपुर दैनिकमा सामाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News