६ महिनामा सवा १५ अर्बको विद्युत निर्यात, अब आयात गर्नुपर्ने


 


काठमाडौ., मंसिर २२ । नेपालबाट ६ महिनामा १५ अर्ब २४ करो रुपैयाँको विद्युत निर्यात भएको छ ।

नेपाल विद्युत प्राधिकरणको तथ्यांकअनुसार जेठ २८ गतेदेखि मङ्सिर २० गतेसम्म १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत निर्यात गरी १५ अर्ब २३ करोड ८० रुपैयाँ आम्दानी भएको हो ।

यस अवधिमा प्राधिकरणले अधिकतम सात सय मेगावाटसम्म विद्युत निर्यात गरेको थियो भने प्रतियुनिट १५ रुपैयाँ ९३ पैसा देखि चार रुपैयाँ ९२ पैसासम्म विद्युत बिक्री गरिएको थियो । औसत बिक्री दर भने प्रति युनिट ८ रूपैयाँ ७७ पैसा रहेको छ ।

तर अब प्राधिकरणले निर्यात नभई आयात गर्नुपर्ने अवस्था आएको जनाएको छ । हिउँद लागेसँगै नदीनालामा पानीको बहावमा कमी भएर आन्तरिक माग नधान्ने अवस्था आउने गरेको छ ।

प्राधिकरणले आज (शुक्रबार) रातिबाट नै निर्यात बन्द भई विद्युत आयातको अवस्था सिर्जना भइसकेको जनाएको छ ।

जाडोमा उत्पादन घट्ने तर माग बढ्ने हुँदा माग पूरा गर्न भारतबाट आयात गर्ने गरिएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्